मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा जोड दिएको छ । मासिदैै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्नबाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुकासाथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुशी भएका छन् ।

पालिकाले चालु आवको चैत समान्तसम्म सहकारी संस्था मार्फत् ८ टन फापर, ७ टन कोदो र एक टन जुनेलो संकलन गरेको छ । विगत ३ वर्षदेखि गाउँपालिकाले कोदो, जुनेलो, धानकोदो र फापरको न्युनतम समर्थन मूल्य तोक्दै आएको छ भने गाउँपालिकाले सहकारीमार्फत् खरिद गराई किसान र सहकारीलाई थप अनुदानसमेत दिँदै आएको गाउँपालिका कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ देखि नै कोदो र फापरको न्युनतम समर्थन मूल्य तोकेर सहकारीमार्फत् उत्पादन खरिद गर्ने व्यवस्था गरिएको छ । कोदो, फापरसँगै धानकोदो र जुनेलोको पनि समर्थन मूल्य तोकेर खरिदबिक्री भइरहेको छ । उत्पादन गरेका बालीको राम्रो मूल्य पाउने निश्चितता भएपछि व्यावसायिक रुपमा खेती गर्ने किसान थपिएका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि कोदो र धानकोदोको मूल्य प्रतिकिलो ५४ रुपैयाँ, जुनेलोको ८४ र फापरको एकसय रुपैयाँ मूल्य तोकेको थियो । न्यूनतम समर्थन मूल्य तोकिएका अन्नबालीमा गाउँपालिकाले थप प्रतिकिलो १० रुपैयाँ अनुदानसमेत दिँदै आएको छ । सो अनुदान र कममध्ये प्रतिकिलो ६ रुपैयाँ किसानले पाउनेछन् भने ४ रुपैयाँ खरिद गर्ने कृषि सहकारीले पाउने गरेका छन् । गाउँपालिकाले चालु वर्ष अन्नबाली खरिद बिक्रीका लागि ५ लाख रुपैयाँ अनुदान छुट्याएको कृषिशाखाले जनाएको छ ।

न्यूनतम समर्थन मूल्य निर्धारण भएपछि गाउँपालिकाले सूचनामार्फत् इच्छुक फर्म र सहकारीलाई आह्वान गर्ने गरेको छ । सोअनुरुप गाउँपालिकामै र हेको दुइवटा सहकारीले बर्सेनि ती उत्पादन खरिद र बिक्री गरिरहेका छन् । अपाड्ड तथा विपन्न कृषि सहकारी संस्थाले गाउँलेका सबै कोदो खरिद गरी कोदोको पीठोको ब्रान्डिङ गरी बजार पठाउने गरेको छ भने एकता स्वावलम्बन कृषि सहकारीले फापर र जुनेलो खरिद गरी बिक्री गर्ने गरेको छ ।

पालिका प्रेस
थप जानकारी