बागमती प्रदेश सरकारले २४ वैशाखबाट सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई औपचारिक रुपमै प्रयोगमा ल्याउने घोषणा गरेको छ । त्यस पश्चात् प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० अनुसार यि दुई भाषा प्रयोगमा आएको अवसरमा २४ वैशाखमा प्रदेश भर सार्वजनिक विदा समेत दिइएको थियो । विडम्वना अझै पनि प्रदेश मन्त्रालयहरुले भाषालाई ऐन अनुसार प्रयोगमा ल्याएका छैनन् । विदा मनाए तर भाषा न लेख्न लगाए ।

प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशले ३ जेठमा मन्त्रिपरिषदको पुर्नगठन तथा कार्य विभाजनको सूचना आफ्नो आधिकारिक वेवसाइटमा प्रकाशन गरेको छ । सूचनामा नेपाल भाषा तथा तामाङ भाषाका केही पनि उल्लेख नै गरेको छैन । कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले हस्ताक्षर गरेको उक्त पत्रमा नेपाली मिति मात्र उल्लेख छ । लेटर प्याडमा पनि नेपाली भाषा मात्र प्रयोगमा छ ।

 

बागमती प्रदेशसभाले २ जेठमा दैनिक कार्यसूची प्रकाशन गरेको छ । सभा सचिव कृष्ण हरि खड्काले हस्ताक्षर गरेको यो सूचनामा नेपाली मिति र कार्यालयको नाम पनि उही नेपालीमै मात्र छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचना मेनु करिब दुई वर्षदेखि अद्यावधिक छैन । मन्त्रालयको सूचना मेनुमा अन्तिम पटक २०७९ चैत्र २६ गते सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना प्रकाशन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय १ जेठमा आर्थिक वर्ष २०८०/०८१ को वैशाख मसान्तसम्मको वित्तीय प्रगती विवरण सार्वजनिक गरिएको छ । शाखा अधिकृत डा. अर्जुन आचार्यले हस्ताक्षर गरेको उक्त पत्रमा कानून बमोजिम लेटरहेड तथा मितिमा भाषा प्रयोगमा ल्याइएको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय २०७८ साल असोज पछि स्वतः प्रकाशन नै गरेको छैन भने सूचनाहरु अद्यावधिक छैनन् । मन्त्रालयको सूचना मेनु २०८० फागुन ९ गते सम्म अद्यावधिक छ । एउटा कार्यविधि अपलोड गरिएको छ । अन्य सूचना सन्देश अपडेट भएको पाइदैन ।

खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रालयमा मन्त्रीहरुको विवरण अपडेट भए पनि अन्य सूचनाहरु भने अपडेट भएको छैन । मन्त्रालयको सूचना मेनुमा २०८० फागुन १३ गते एउटा सूचना अन्तिम पटक अपलोड भएको देखिन्छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तिम पटक प्रजातन्त्र दिवस, २०८० मनाउने सूचना अपलोड गरेको छ । वन तथा वातावरण मन्त्रालयले २०८१ वैशाख १८ गते एउटा विज्ञप्ती अन्तिम पटक अपलोड गरिएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले र्वैशाख १८ मा एउटा बोलपत्रको सूचना अपलोड गरिएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय २०८० चैत्र २९ गते एउटा सूचना राखेको छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय २०८१ वैशाख १७ गते भाषा दिवस मूल आयोजक समितिको विवरण लेखिएको विज्ञप्ती प्रकाशन गरेको छ ।

सामाजिक विकास मन्त्रालय २०८१ वैशाखसम्मको खर्चको फाँटवारी प्रकाशन गरेको छ । लेटरप्याड विना विवरण मात्र प्रकाशन वेवसाइटमा गरेको छ । यो समाचार तयार गर्दा स्वास्थ्य मन्त्रालयको सरोवर इरर देखाइरहेको छ । प्रदेश नीति तथा योजना आयोगको वेवसाइट पनि अद्यावधिक नभएको पाइएको छ ।

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० मा नेपाली भाषाको अतिरिक्त नेपाल भाषा र तामाङ भाषाको लिपी समेत प्रयोग गर्नुपर्ने उल्लेख छ । यसरी भाषा प्रयोग गर्दा नेपाल संवत, मञ्जुश्री संवतलाई समेत लेटर प्याडमा प्रयोगमा ल्याउनुपर्ने ऐनमा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी