हेटौंडा उपमहानगरपालिकाले घोषणा गरेको पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै ‘शून्य फोहोर हेटौंडा’ अभियानअन्तर्गत आजदेखि टोल विकास संस्था नगर संस्था नगर समन्वय समितिको संयोजनमा बृहत् सरसफाइ अभियान सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ र ११ मा आयोजित सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्था, वडा समन्वय समिति, विभिन्न सामाजिक संघ–संस्था तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, वडा नं. ३ का अध्यक्ष ढलकबहादुर थापा, वडा नं. ९ का अध्यक्ष सुकराम केसी, वडा नं. ११ का अध्यक्ष जुना दाहाल लगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, उपमहानगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी, विभिन्न संघ–संस्था र टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौंडालाई स्वच्छ र सुन्दर शहर बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उनले सरसफाइलाई एकदिने कार्यक्रमका रूपमा मात्र नलिई नागरिकको व्यवहार र दैनिक जीवनसँग जोडेर निरन्तर अघि बढाउनुपर्ने धारणा राखे ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउन हेटौंडाको स्वच्छता र सौन्दर्य महत्वपूर्ण रहेको बताए । उनले स्वच्छ वातावरण, व्यवस्थित शहर र नागरिकको सक्रिय सहभागिताले मात्र हेटौंडालाई पर्यटकीय शहरका रूपमा स्थापित गर्न सकिने बताउँदै अभियानमा सबैको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरे ।

हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुुव प्रसाद अधिकारीले ‘शून्य फोहोर हेटौंडा’ अभियान आजबाट औपचारिक रूपमा सुरु भएको बताए । उनले भने, “यो अभियान कुनै एक ठाउँमा सीमित हुने होइन, हेटौंडाका टोल–टोलसम्म पुग्ने अभियान हो। यसले प्रत्येक टोललाई सरसफाइ र वातावरण संरक्षणप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।” अधिकारीका अनुसार आजबाट हेटौंडाका विभिन्न टोल विकास संस्थाहरूले समेत आ–आफ्नो कार्यक्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। टोलस्तरबाटै नागरिकलाई फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्वच्छताप्रति जिम्मेवार बनाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइनेछ।

‘शून्य फोहोर हेटौंडा’ अभियानले पर्यटन वर्ष २०८३ को अवसरमा हेटौंडालाई स्वच्छ, सफा, सुन्दर तथा पर्यटकीय शहरका रूपमा विकास गर्ने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी