मकवानपुरको कैलाश गाउँपालिकाका नागरिकलाई विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कैलाश गाउँपालिका र सिएमसी हस्पिटल, हेटौंडाबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतिले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार गाउँपालिकाका नागरिकलाई हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य उपचार तथा सेवामा सहजीकरणकै गरिनेछ । भौगोलिक विकटताका कारण स्वास्थ्य उपचारका लागि हेटौंडा, मनहरीलगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता कम गर्दै विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको अध्यक्ष मुक्तानले बताए । ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो,’ अध्यक्ष मुक्तानले भने, ‘आर्थिक अभाव वा भौगोलिक विकटताका कारण कैलाशका नागरिक गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । सिएमसी हस्पिटलसँगको सहकार्यले विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास लिएका छौं ।’
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकाससँगै १० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको जनाएको छ । गाउँपालिकाको आयोजना तथा सिएमसी हस्पिटलको प्राविधिक सहयोगमा ६ भाद्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी नागरिकलाई अब गाउँमै सञ्चालनमा रहेको अस्पतालबाट सेवा लिन अध्यक्ष मुक्तानले आग्रह गरे । कैलाश भौगोलिक रूपमा विकट हुनुका साथै चेपाङ र तामाङ समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्र हो । विशेषज्ञ स्वास्थ्य सेवाका लागि स्थानीय नागरिकले हेटौंडा, मनहरीलगायतका सहरमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष मुक्तानले गाउँमै अस्पताल सञ्चालन भएपछि स्वास्थ्य सेवामा केही सहजता हुने बताए ।
गाउँपालिकाले आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा नागरिकले स्वास्थ्य सेवा लिन सक्ने जनाएको छ ।
यसैबीच सम्झौता कार्यान्वयनको सुरुवातसँगै शनिबार कैलाशमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । शिविरमा सिएमसी हस्पिटलका बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक–कान–घाँटी, अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार शिविरबाट ३५० भन्दा बढी नागरिकले सेवा लिएका छन् । शिविरमा सबैभन्दा बढी प्रसूति तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण भएको उनले बताए । शिविरमा आँखा परीक्षण, भिडियो एक्सरे, अर्थोपेडिक तथा सामान्य रोगको परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणसँगै चिकित्सकीय परामर्श र आवश्यक औषधिसमेत वितरण गरिएको गौतमले जानकारी दिए ।
सम्झौता हस्ताक्षर तथा स्वास्थ्य शिविर कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, सिएमसी हस्पिटलका सञ्चालक जेनिशा अधिकारी, गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टीकाराम अधिकारी, स्वास्थ्य शाखा प्रमुख गौतमलगायत हस्पिटलका चिकित्सकहरूको सहभागिता थियो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्