तनहुँका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्यगत सम्झौता भएको छ । दुई पक्षबीच भूमिहीनको लगत संलनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा आयोगका विज्ञ सदस्य वासुदेव हुमागाईं, अमिन केशवराज डाँगी, प्रमुख नापी अधिकृत जनकराज भट्ट र स्थानीय तहबीच समझदारी गरिएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण कार्य गर्ने, अनुमानित घरपरिवार संख्यालगायतका प्रारम्भिक विवरण पेस नगरेको भए पेस गर्न लगाउने सम्झौता भएको छ । लगत संकलनका लागि वडाका विभिन्न स्थान निर्धारण गर्ने र आवश्यक व्यवस्थापकीय प्रबन्ध गर्ने, स्थानीय स्तरमा अव्यवस्थित व्यवस्थापन सहजीकरण समिति गठन गर्न सहजीकरण गर्ने, लगत संकलनका लागि सेवा केन्द्र प्रमुख तथा तथ्यांक संकलन, तथ्यांक प्रविष्टकर्ता, नापी कामदार, फिल्ड सहयोगीलगायतका आवश्यक अन्य जनशक्ति व्यवस्थापन गर्ने र नापी कार्यालयबाट खटिएका नापी टोलीको कार्यकक्ष व्यवस्थापन गरी आवश्यक पूर्वाधार (कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि) सहितको सेवा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ ।

कुनै जग्गा भोगचलन नगरेका वा वितरण गर्न नमिल्ने जग्गामा बसोबास भोगचलन गरेकालाई उपलब्ध गराउन सकिने जमिन पहिचान गरी नापनक्सा गर्न स्थानीय तहमार्फत जिल्ला समितिलाई सिफारिस गर्ने, सम्बन्धित नापी कार्यालयमार्फत आयोगले जग्गा नापनक्सा गर्न नापी टोली खटाउने समझदारी भएको छ ।आयोग एक्लैले काम गर्दा वास्तविक सुकुम्वासीको तथ्यांक संकलनमा समस्या हुने भएकाले सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवारी दिई सुकुम्बासीको पहिचान, लगत संकलन र प्रमाणीकरणमा थप काम गर्न आयोगका विज्ञ सदस्य हुमागार्इंले आग्रह गरे । सर्भेक्षक, अमिन, सामाजिक परिचालक, तथ्यांक संकलक र प्रविष्टकर्तालगायत कर्मचारी स्थानीय तहले नै राखेर काम अघि बढाउन अख्तियारी दिइएको छ ।

आयोगले जिल्लाका १० वटै स्थानीय तहका प्रमुखसँग लगत संकलनसम्बन्धी अभिमुखीकरण गरिसकेको बताएको छ । सरकारले चाँडोभन्दा चाँडो भूमिहीनका समस्या समाधान गर्न लागेकाले स्थानीय तहसँग सम्झौता गरिएको आयोगका जिल्ला समिति अध्यक्ष अधिकारीले बताए । ‘विगतमा धेरै अधिकार आयोगलाई दिएको अवस्था थियो । अहिले आयोगले धेरै अधिकार स्थानीय तहलाई दिएको छ । हामी पुलको रूपमा मात्रै रहेका छौँ,’ अध्यक्ष अधिकारीले भने ।

पालिका प्रेस
थप जानकारी