बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सकिएको छ ।  ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअगाडि नै सुविधा सम्पन्न प्रशासनिक भवन बनेको ताराखोला गाउँपालिकाले जनाएको छ । रु पाँच करोडको लागतमा निसान/आचार्य/विके जेवी निर्माण कम्पनीले पाँच महिना अगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपाङ्गमैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भवन जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवनको अभाव हुँदै आएको थियो ।

ताराखोला गाउँपालिकाले हालसम्म प्रशासनिक शाखा कार्यालयहरु सार्वजनिक तथा निजी भवन भाडामा लिएर कार्य सम्पादन गर्दै आएका छन् । गाउँपालिकाले साबिक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरुआत गरेको थियो । भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत गरी कूल रु पाँच करोडको लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिने तयारीमा रहेको बताए । ‘अहिलेको भवन निकै साँघुरो थियो, सेवा प्रवाहमा निकै समस्या थियो’, अध्यक्ष घर्तीले भने, ‘नयाँ प्रशासनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा रहेको छ ।’

निसान/आचार्य/विके जेवी निर्माण कम्पनीले २०७७ असार २० गते रु पाँच करोड १० लाख सात हजार लागतमा भवन निर्माण गर्नका लागि सम्झौता गरेको थियो । २०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअगाडि नै  भवन निर्माण सकिएको र माघ महिनाभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए । तीनतलाको लिफ्टसहितको भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहने गाउँपालिकाले जनाएको छ ।  एकपटकमा ६ जना चढ्न मिल्ने लिफ्ट अहिलेको अत्यन्तै आधुनिक लिफ्ट भएको र त्यसको मूल्य रु ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुङ्गा टाँसेर भवनलाई आकर्षक तथा परम्परागतसमेत बनाइएको छ ।

पालिका प्रेस
थप जानकारी