थाहा नगरपालिकाले लघु उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नगरपालिकाले दामन महिला अल्लो हेन्डिक्राफ्ट उद्यमी समुहलाई १६ असारमा एक कायृक्रमको आयोजना गरी प्रविधि हस्तान्तरण गरेको हो ।

विकास घरको हलमा आयोजित कार्यक्रममा अल्लो तथा हेम्पबाट बनेको कपडा सिलाउने हेवी जुकि मेसीन मोटर सहित एक थान तथा हेवी जुकी लक मेसीन मोटरसहित एक थान गरी एक लाख पचास हजार रुपैयाँ बरावरको मेसीन सहयोग गरिएको मेड्पाकी कार्यक्रम संयोजक सुनिता बुढाले जानकारी दिइन् । सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, रोजगार संयोजक कुमार नेगी र मेड्पाका फोकल पर्सन अस्मिता तिवारी घिमिरलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख विष्टले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताए । राज्यको सम्पति दुरुपयोग गर्न नहुने बताउँदै उनले नगरले प्रदान गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरे । सीपलाई श्रम र श्रमलाई बजारसंग जोड्नु पर्ने बताउँदै विष्टले वैदेशिक रोजगारीमा जानु भन्दा यहि मेहनत गर्न सके जीवनस्तर उकास्न सकिने धारणा राखे । उनले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गरे ।

नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वरोजगारका लागि गरिएको यो सहयोग ठीकसंग उपयोग गर्नु पर्ने बताए । प्रविधिसँग जोडेर काम गर्नु पर्ने बताउँदै उनले वितरण गरिएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताए । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने समेत उनको भनाइ थियो । प्रविधी हस्तान्तरणपछि समुहकी अध्यक्ष रेश्मा गोपालीले प्रविधी पाएपछि व्यावसायिक रुपमा काम गर्न जाँगर बढेको बताइन् । दामन महिला अल्लो समुहले अल्लो र हेम्पबाट धागो निकाली कपडा बनाउदै आइरहेको छ।

नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्युटीपार्लर, सिलाई कटाई, डल बनाउने, मुढा बनाउने, कृस्टलको गहना पोते बनाउने, अचार बनाउने लगायतका महत्वपूर्ण तालिमहरु प्रदान गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी