‘एक पालिका, एक औद्योगिक ग्राम’ अन्तर्गत निर्माण थालिएको मकवानपुर थाहा नगरपालिकाको औद्योगिक ग्राम निर्माण पूरा हुन सकेको छैन । वडा नम्बर ११ स्थित नौखण्डेको देउराली नजिकै औद्योगिक ग्रामको काम भैरहेको छ । निर्माण थालेको पाँच वर्ष भइसकेको छ । नगरपालिकाले औद्योगिक ग्राम स्थापनाको लागि विस्तृत परियोजना पस्ताव (डीपीआर) तयार गरी योजना कार्यान्वयन गरेको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेस गरी योजना कार्यान्वयनका लागि पालिकाले स्रोतको खोजी गरिरहेको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । स्थानीय घरेलु उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्यकासाथ औद्योगिक ग्रामको पालिकाले अवधारणा अघि बढाएको हो । औद्योगिक ग्रामको जमीन सम्याउने र सडक, विद्युत, खानेपानीको पूर्वाधार तयारको काम भने भैरहेको छ । संघीय सशर्त बजेट बाहेक थाहानगरको लगानीमा बाटोमा निर्माण गर्ने कार्य भएको छ ।
यो कामका लागि पूर्वनगरप्रमुख लवशेर बिष्टले पनि संवेदनशील भएर काम अघि बढाएको स्थानीयले बताएका छन् । थाहानगरबासीले उत्पादन गर्ने मौसमी तथा बेमौसमी तरकारीलाई स्वरुप परिवर्तन गरी त्यसलाई बजारमा लैजाने खालको उद्योग स्थापना गर्नुपर्ने पूर्वनगरप्रमुख बिष्ट बताउँछन् । कच्चापदार्थका लागि बाहिरी मुलुकमा निर्भर हुननपर्ने, गुन्द्रुक, मस्यौरा, मुलाको सन्दना, सिन्की उत्पादन गर्ने उद्योगमा लगानी गर्ने लगानीकर्ताको खोजी गरिरहेको उनीहरुले बताएका छन् । बाँसका परम्परागत घरेलु सामग्री, काठका सामग्री उत्पादन गर्ने औद्योगिक प्रतिष्ठानलाई प्राथमिकतामा दिने नगरपालिकाको नीति छ ।
थाहानगरले नीति तथा कार्यक्रममा पनि कृषिजन्य उत्पादन तथा पशुपालन, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले कृषिजन्य उत्पादन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोले औद्योगिक ग्राममा पनि स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिइने बताइएको छ । औद्योगिक ग्राममा औद्योगिक प्रतिष्ठान स्थापनाका लागि हालसम्म कसैले पनि आवेदन नदिएको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् । ‘हामीले पूर्वाधार तयार गर्नै पनि केही बाँकी भएकोले उद्योगमा लगानीकर्ताले चासो नदेखाएको हुनसक्छ । उद्योग राख्नका लागि लगानीकर्तालाई आब्हान गर्छौैं’–नगरप्रमुख बिष्टले भने ।
नेपाल सरकारले आर्थिक वर्ष २०७६÷०७७ मकवानपुरको थाहासहित ४५ वटा औद्योगिक ग्राम घोषणा गरेको थियो । औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ अनुसार औद्योगिक ग्राम घोषणा गरिएको हो । कार्यविधि अनुसार औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रण व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ।
औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ। उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलक लगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योग रहने छन्।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्