हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो एक महिनामा चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरका राजस्व शाखाप्रमुख मनोज सुवेदीका अनुसार साउनमा उपमहानगरले सम्पत्ति करबाट एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट पाँच लाख ९६ हजार राजस्व संकलन भएको छ ।
यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार कम राजस्व संकलन भएको हो । आव २०८०÷८१ को साउनमा उपमहानगरले चार करोड ७५ लाख ७६ हजार राजस्व संकलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए । यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौंडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको थियो ।
उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व संकलन गरेको छ । उपमहानगरले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट ६ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट एक करोड ६ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट पाँच लाख ८६ हजार, ढुंगागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार राजस्व संकलन भएको राजस्व शाखाप्रमुख सुवेदीले बताए ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्