दामनकै काखमा उतारचढावको लामो यात्रा तय गरेको पानारोमा रिपोर्ट छ । ३३ वर्षदेखि एभरेष्ट पानारोमा रिसोर्टले पाहुनाको स्वागत गरिरहेको छ । यो रिसोर्टले अहिले आफ्नो स्वरुप फेर्दैछ । काठमाडौं लगनमा जन्मिएका पर्यटन व्यवसायी रविचन्द्र हमालले काठमाडौं, चितवन र पोखराको गोल्डेन रुट पहिल्याउँदै मध्य भाग मकवानपुरको दामनमा २०४८ सालमा नै रिसोर्ट खोलेका हुन् ।

दामनको त्यो आलु र मुला रोप्ने बारी हमालले २०४५ सालमा किने । २०४८ सालमा उनले एभरेस्ट पानारोमाको निर्माण सुरु गरे। वरपर हिमालहरूको ‘पानारोमा भ्यू’ देखेर नै उनले रिसोर्टको नाम ‘एभरेस्ट पानारोमा’ राखे। ‘यो ठाउँ गोल्डेन रुट्सअन्तर्गत काठमाडौं, चितवन र पोखरालाई जोड्न पनि महत्वपूर्ण छ। काठमाडौं इतिहास र सम्पदाले भरिएको ठाउँ छ। चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ पाइने जीवजन्तु र वनस्पतीका कारण महत्वपूर्ण छ। पोखरा हिमाल र तालहरुका कारण सुन्दर छ। यही रुटको बीचमा ऋषेश्वर महादेव मन्दिरनजिकै यो पानारोमा रिसोर्ट रहेको छ’ हमालले सुनाए।

 

उनी भन्छन्, ‘एभरेस्ट पारानोमा असाध्यै सुन्दर ठाउँमा छ। संसारका ८ हजार मिटर अग्ला ८ वटा हिमाल यहीँ नेपालमा छ। यहाँबाट ती सबै अग्ला हिमालहरू देखिन्छन्। तिब्बतको सिसापाङ्गमादेखि भुटानको हिमालसम्म पनि देखिन्छ ।’
२०५० सालमा बाढी पहिरो गएपछि दामन र यसवरपर ठूलो क्षति भएको हमाल सुनाउँछन्। ‘त्यो समयमा यही भेगमा मात्रै ११ सय मानिसको निधन भयो। यहाँ रिसोर्टनजिकै हामीले हेलिप्याड बनाएर धेरै मानिसहरुको उद्धार पनि र्गयौँ। पहाड नै पहाड बगेर धेरै नै क्षति भएको थियो’ उनले भने । यही बाढी पहिरोपछि नै आफूहरुले यस भेगमा अभियान नै चलाएर हजारौँ रुख रोपेको हमाल सुनाउँछन् ।

‘ललितपुर गोदावरीबाट ट्रकका ट्रक विरुवा ल्याएर रोप्यौँ। यहाँमात्र होइन तल नौबिसेदेखि नै बोटविरुवा रोप्दै रोप्दै नै आएका थियौँ। गाउँलेहरूलाई पनि २०/२० रुपैयाँ दिएर रुख रोप्न लगाएका थियौँ। त्यसरी जंगल नै बनाएर यहाँ संरक्षणको कामहरू भइरहेको छ’ उनले भने। हमालले नेपालको पर्यटन क्षेत्रमा काम गर्न थालेकै ४५ वर्ष भयो। नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण सबैतिर कुना–कुनामात्र होइन उनले विभिन्न ७० देश घुमिसकेका छन् । त्यो सबै भ्रमण र अनुभवबाट उनलाई लाग्छ –नेपाल त साँच्चै स्वर्ग नै हो । ‘नेपाललाई स्वीट्जरल्याण्डसँग अलिअलि दाँज्न खोज्छु। स्वीट्जरल्याण्ड धनी देश भएर त्यहाँ विकासले नछोएको ठाउँ नै छैन। दुईजनामात्र बस्ने एउटा सानो घरमा पनि सडक पुगेको छ। सबैतिर फूल नै फूल फुलेका हुन्छन् । त्योभन्दा राम्रो हुन सक्छ नेपाल’ उनले भने।

राम्ररी विकास गर्न सक्ने हो भने नेपालले पर्यटन क्षेत्रबाटै धेरै गर्न सक्ने भन्दै उनी सुनाउँछन्, ‘एभरेस्ट पानारोमा रिसोर्टमा मात्र वर्षमा हजारौँ पर्यटक हामीले भित्र्याएका छौँ। संसारका धेरै ठाउँमा हामीले जीएसए एजेन्ट राखेका थियौँ। यसको प्रचार–प्रसार पनि संसारभर गरिरहेका छौँ। पहिले त निकै राम्ररी चलेको रिसोर्ट हो यो ।’

मकवानपुर संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि विकासबाट भने अलि पर नै छ। ‘यो ठाउँको विकासमा निजी क्षेत्रबाट हुनुपर्ने काम पनि होस्, यहाँका मानिसले रोजगारी पनि पाउन् भनेर यहाँ नै रिसोर्ट खोलेका हौँ। त्यो समयमा धेरै त नगरकोट र धुलिखेलतिर नै रिसोर्ट खोल्नेमा थिए। हामीले नयाँ ठाउँमा गरौँ भनेर मकवानपुरमा आयौँ’ हमालले भने।

  • थाहानगरका होटल तथा होमस्टे विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
पालिका प्रेस
थप जानकारी