संघीय सरकारले मकवानपुरको ३ सहित ७१ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल सरकारद्वारा २१ असोजमै राजपत्रमा प्रकाशन गरी संकटग्रस्त पालिकाको नामावली सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार मकवानपुरको इन्द्रसरोवर, भीमफेदी र बकैया गाउँपालिका छन् । सूचना अनुसार गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षाका कारण भएको भौतिक क्षतिको आधारमा २० जिल्लाका ७१ स्थानीय तह संकटग्रस्त घोषणा गरिएको हो ।

बाढी/पहिरो पीडित पालिकाहरुलाई १८ असोजबाट लागू हुनेगरी ३ महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको जनाइएको छ । स्थानीय तहलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

संकटग्रस्त घोषणा भएका पालिकाहरुको पुर्ननिर्माणलाई प्राथमिकताको साथ अघि बढाइने भएको छ ।