मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित माथिल्लो सुपिङका किसान कृष्णप्रसाद पुडासैनीले गर्नुभएको रायोको सागको खेती लोभलाग्दो छ । पुडासैनीले करिब पाँच रोपनी बारीमा रायोको खेती गरेका छन् ।

स्थानीय स्तरमै पाइने रैथाने रायोको उनले खेती गरेका हुन् । पहिला–पहिला घरमा खानलाई मात्रै साग लगाउने गरे पनि उनले विगत १० वर्षदेखि परिवारका सदस्य मिलेर व्यवसायिक रुपमै खेती गरेका छन् । सुपिङ क्षेत्रमा पुडासैनीको उत्पानतर्फ आकिर्षत भएर अन्य किसानहरुले पनि रायो खेती गरेका छन् ।

सुपिङको रायो साग स्थानीय स्तरमा भिमफेदी र हेटौँडा बजारमा खपत हुने गरेको छ । धेरै साग उत्पादन भएका बेला काठमाडौँमा बिक्रीका लागि पठाउने गरेको स्थानीय मधुसूदन पुडासैनीले जानकारी दिए । माथिल्लो सुपिङमा रायोसँगै काँक्रो खेती पनि हुने गरेको छ । दसैँमा यहाँका किसानले ६० रुपियाँसम्ममा रायोको साग बिक्री गरेका थिए ।

अहिले सागको उत्पादन बढेसँगै ४० देखि ५० रुपियाँ मुठ्ठामा बिक्री हुनेगरेको छ । विषादीको प्रयोग नगरी अर्गानिक साग खेती गर्ने गरिएको पुडासैनीले बताए ।

पालिका प्रेस
थप जानकारी