मकवानपुर थाहा नगरपालिकामा क्रियाशील सहकारीहरुको साझा समन्वय समिति गठन गरिएको छ । नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको प्रतिनिधित्व हुने गरी १३ कार्तिकमा थाहानगर सहकारी संचालन समन्वय समिती गठन गरिएको हो ।

नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीको विशेष उपस्थितीमा नगरपालिकामा आयोजित सहकारी संस्थाहरुको अध्यक्ष तथा प्रतिनीधिहरुको बैठकले समन्वय समिति गठन गरिएको सहकारी शाखा प्रमुख अस्मिता तिवारीले जानकारी दिइन् ।

समन्वयको समितिको संयोजकमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष कृष्ण बहादुर बिष्ट चयन भएका छन् । समितिको सदस्यहरुमा शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मनोज रायमाझी, दामन कृषि सहकारीका रामशरण केसी, चेतनशील महिला बचत तथा ऋण सहकारीबाट शकुन्तला गोपाली, कुटेश्वर महिला सहकारीकी कालीदेवी गोले, ग्रामीण पर्यटन व्यावसायी सहकारीबाट शिवहरी बर्तौला, भालेश्वर कृषि सहकारीका दिपक गोपाली र सुन्तलाबारी कृषि सहकारीका क्षेत्र बहादुर आले मगर रहेका छन् ।

थाहा नगरपालिकाका प्रमुख बिष्ट, गोपाली, प्रशासन महाशाखा प्रमुख नवीन खालिङको उपस्थितिमा भएको सो बैठकमा निर्माणाधीन थाहा शीतभण्डार संचालनमा ल्याउन विशिष्टिकृत सहकारी संस्था निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सहकारी संस्थाहरुले समष्टिगत विवरणहरु यथासक्य छिटो भर्ने प्रतिवद्धता जनाएका थिए । सहकारीकर्मीहरुको लागि नगरपालिका र सहकारीहरुको समन्वयमा विविध क्षमता अभिवृद्धका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

यसअघि पनि थाहानगरमा महेश्वर सुवेदीको अध्यक्षतामा थाहानगर सहकारी सञ्जाल गठन भएको थियो ।

पालिका प्रेस
थप जानकारी