मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने राष्ट्रिय रोटरी माध्यमिक विद्यालयदेखि निर्मल बस्तीसम्मका अतिक्रमित जग्गामा बनेका संरचना भत्काइने भएको छ । वन समूहले ५ मंसीरमा आयोजना गरेको सर्बपक्षीय छलफलमा सहभागीहरुले अतिक्रमित संरचना हटाउने निर्णय गरेको हो ।

छलफलमा मनकामना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु, ७ नं वडाका जनप्रतिनिधिहरु डिभिजन वन कार्यालय राप्ती, सव डिभिजन वन कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय मनहरी, शसस्त्र प्रहरी आइआरटी पोष्ट लच्का, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । सर्बपक्षीय अनुगमन टोली अतिक्रमित क्षेत्रमा अवलोकनमा पुग्दा दैनिक रुपमा निर्मलबस्तीको उत्तरतर्फको बाटो मिचेर जंगलतिर सारिएको, बाटोभन्दा माथिको भूभागमा गोठ, कुखुराका खोर तथा मान्छे सुत्ने टहरा समेत बनाएको पाइएको थियो ।

सहभागी सबैल तत्कालै अतिक्रमित भूभाग वनक्षेत्रमै फिर्ता गरी सुन्दर पिकनिक पार्क बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए । मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङले अतिक्रमण रोक्नका लागि तत्कालै बाटोमा कंक्रिट स्ल्याव ढलान कार्य अघि बढ्ने समेत बताए । वन समूहका अध्यक्ष सुरेश मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

पालिका प्रेस
थप जानकारी