फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुरका दुई पालिकाले रैथाने बाली र त्यसमा पनि विशेष गरी कोदो, फापर र जुनेलो खेतीलाई अनुदान दिएर प्रोत्साहन गर्न थालेका छन् । मकवानपुरको मकवानपुर गढी र त्यससँगै जोडिएको भीमफेदी गाउँपालिकाले गत आवदेखि रैथाने बालीलाई प्रोत्साहन गर्न थालेका हुन् ।

मकवानपुर गढीले कोदो र फापरको ब्रान्डिङका साथसाथै बजारीकरण पनि गर्न थालेको छ । उसले कोदो, फापर र जुनेलोको न्यूनतम् मूल्य पनि तोकेको छ ।
हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको मकवानपुर गढी गाउँपालिका—४ कालीखोलाका सुकुमबहादुर घलानले दुई वर्षअघिसम्म सात रोपनी जग्गामा कोदो रोप्थे । त्यहाँ उत्पादन भएको कोदासमेत बिक्री हुँदैनथ्यो । पालिकाले बजारको व्यवस्थासँगै समर्थन मूल्य तोकेकाले घलानले यस वर्ष २० रोपनी जग्गामा कोदो रोपेका छन् । उनी अहिले ढुक्क छन् । पालिकाले सहयोग गरेपछि जति उत्पादन भए पनि बिक्रीमा समस्या नआउने उनको ठहर छ ।

घलान मात्र होइन, यहाँकी अम्बिका चौलागाईंले पनि अहिले १० रोपनी जग्गामा कोदो रोपेकी छिन् । दुई वर्षअघिसम्म उनले दुई रोपनी जग्गामा मात्र कोदो रोपेकी थिइन् । घलान र चौलागार्इंले मात्र होइन, मकवानपुर गढीका १, २, ४, ७ र ८ नम्बर वडाका अधिकांश बासिन्दाले अहिले कोदो खेती गर्न थालेका छन् । ‘कोदोको मूल्य पनि राम्रो र बिक्री गर्न पनि समस्या नभएकाले यो रोप्न थालेका हौं,’ घलानले भने, ‘पहिला त गाईगोरुलाई घाँसका रूपमा नल खुवाउनका लागि कोदो खेती गरिन्थ्यो, अहिले कमाइको निम्ति यसको खेती गरिन थालेको छ ।’

मकवानपुर गढी पालिकाले कोदो प्रतिकेजी ६० रुपैयाँ समर्थन मूल्य तोकेको छ । जुनेलोको प्रतिकेजी ८४, तितेफापर ९० र मिठेफापर १०५ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ । ‘किसानद्वारा उत्पादित कोदो, फापर र जुनेलो स्थानीय सहकारीमा बिक्री गर्दा पालिकाले कृषकलाई प्रतिकेजी ६ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी ४ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ,’ पालिका अध्यक्ष दोर्जे लामाले भने, ‘अनुदान पाएपछि मकवानपुर गढीका कृषकहरू अहिले कोदो, फापर र जुनेलो खेतीतर्फ आकर्षित भएका छन् ।’ गाउँपालिका, प्रदेश र संघीय सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि अनुदान दिन थालेपछि रैथाने बालीको खेतीतर्फ पालिकाबासीहरू आकर्षित भएका हुन् ।’

गत वर्ष मकवानपुर गढीमा ४ सय ५० हेक्टर जमिनमा कोदो खेती गरिएको थियो । अहिले विस्तार भएर ५ सय हेक्टर जमिनमा कोदो खेती गरिएको पालिकाका कृषि शाखाका प्रमुख गोपाल लम्सालले बताए । ६० हेक्टर जमिनमा फापर खेती गरिएको छ भने ५० हेक्टरमा जुनेलो खेती गरिएको उनले बताए । विगत चार वर्षदेखि संघीय सरकारसँगै पालिकाले पनि रैथाने बाली कोदोको उत्पादन र उत्पादकत्व वृद्धि गर्न अनुदान दिंदै आएकाले उक्त पालिकाका करिब २ सय ५० घरधुरीले कोदो खेती गरेका छन् ।

चालु आवका निम्ति पालिकामा रैथाने बालीको प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले १६ लाख र संघीय सरकारले ६ लाख रुपैयाँ अनुदान दिएको छ । उक्त पालिकाले कोदो, फापर र जुनेलोको बजारीकरण गर्न ब्रान्डिङसहित बजारमा पिठो ल्याएको छ । त्यतिमात्र होइन, कोदो र फापरको खपत बढाउनका लागि स्कुलको दिवा खाजा कार्यक्रममा साताको एक दिन अर्थात् बिहीबार कोदो र फापरका परिकार खुवाउनुपर्ने नियमै बनाइएको छ । दिवा खाजा कार्यक्रममा कोदो र फापरका सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ ।

यसैगरी भीमफेदी गाउँपालिकाले गत आवदेखि कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो । ‘पालिकाले बजेटमा कोदो खेती गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गर्ने बित्तिकै कोदो खेती गर्ने कृषकको संख्या बढेको छ,’ अध्यक्ष हिदम लामाले भने, ‘अहिलेको वर्ष झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको छ ।’

अनुदानको व्यवस्था नहुँदा गत आवमा एक हजार रोपनीमा पनि कोदो रोपिएको थिएन । अनुदान पाउने भएपछि कोदो खेतीतर्फ कृषक आकर्षित भएको भीमफेदी गाउँपालिकाका कृषि शाखा प्रमुख उज्ज्वल रानाले बताए । उक्त पालिकाले कोदो खेतीको प्रवर्द्धन गर्न चालु आवका निम्ति ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अहिले किसानले उत्पादन गरेको कोदोको बजारीकरणको व्यवस्थाको तयारी पालिकाले गरिरहेको भीमफेदी कृषि शाखा प्रमुख रानाले बताए । ‘यस वर्ष कसरी अनुदान दिने भनेर पालिकाले निर्णय लिइसकेको छैन, तर अब छिट्टै त्यसबारे निर्णय लिइनेछ,’ उनले भने ।

-कान्तिपुरबाट ।

पालिका प्रेस
थप जानकारी