थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुन्छाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ वर्षे व्यवसायिक योजनाको विषयमा छलफल गरेको छ । सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ४ वर्षमा संस्थाले के के काम गर्ने, कतिसम्मको वासलात पुर्याउने भन्ने विषयमा एकदिने कार्यक्रम भएको व्यवस्थापक मनराज गोपालीले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुबिन्द्र गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा सचालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला उपसमिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई संस्थाका व्यवस्थापक मनराज गोपालीले सहजीकरण गरेका थिए । सहकारीको कार्य योजना सदस्य केन्द्रित गर्दै कारोबारलाई प्रोत्साहन गर्ने, कृषिमा लगानी गर्ने, सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, मोबाइल बैकिङ सेवालाई व्यवस्थित गर्ने, एसएमएस सेवालाई व्यवस्थित गर्ने तथा एटिएमसम्मको ब्यवस्था गर्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।

सो अवसरमा सहकारीले संचालन गर्दै आएको विगतका गतिविधिको समीक्षा तथा भावि योजनामा केन्द्रित भई संस्थाको अवसर, चुनौति र बजारको बारेमा छलफल भएको थियो । कार्ययोजनाको छलफलको क्रममा संस्थाको ४ वर्षे योजना तथा त्यसको लागि बजेट समेत अनुमान गरिएको व्यवस्थापक गोपालीले जानकारी दिए ।

कार्यक्रम संस्थाका सचिव प्रमोद गोपालीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी