मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको कारोबार ६ करोड नाघेको छ । संस्थाका अध्यक्ष नवराज कार्कीले १४ मंसिरमा भएको १८ औं वार्षिक साधारणसभामा पेश गरेको वार्षिक प्रतिवेदनमा यस्तो कारोबारको अंक उल्लेख भएको हो । अध्यक्ष कार्कीले सस्थाको भावी योजना र कार्यक्रम प्रस्तुत गर्दै २९ जना सेयर सदस्यबाट वि.सं. २०६४ सालमा शुरु भएको सहकारीमा सदस्य संख्या १ हजार ८२५ जना पुगेको उल्लेख गरे ।

अध्यक्षका साथै सचिव भुपेन्द्र हमाल, कोषाध्यक्ष राधाकृष्ण बिष्टले सभामा पेश गरेको प्रतिवेदन पारित भएको छ ।

पालुङ जेसीजको सभाहलमा भएको साधारणसभा जिल्ला बचत सहकारी संघका कोषाध्यक्ष बिष्णु माया लामाको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा सुभकामना व्यक्त गर्दै प्रमुख अतिथी लामाले सहकारी नाफामुलक नभएर सेवा मुलक पनि हुनुपर्नेमा जोड दिइन् । ‘केही गलत संचालकहरुले गर्दा सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको छ, यसलाई सुधारेर लैजानू चुनौतीपूर्ण छ’–प्रमुख अतिथी थिङले भनिन् । पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर विष्टले सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बा भएकोले सहकारी–सहकारी मिलेर देश विकासको लागि योगदान गर्नुपर्ने बताए । अध्यक्ष विष्टले सहकारी बीचको समन्वय र सहकार्यबाट थाहामा शीतभण्डार निर्माण गरेर संचालन गर्ने सुनाए ।

संस्थाका सचिव भुपेन्द्र हमालले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ का कार्यवाहक अध्यक्ष युवराज बिष्ट, संस्थाका पूर्व अध्यक्ष गोकर्ण बरुवाल, पालुङ क्याम्पस प्रमुख राजन मिश्रलगायतले शुभकामना दिएका थिए । सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा दैनिक बचत तर्फ सर्मिला जिम्बा, बिजय तामाङ, ऋण कारोबार तर्फ सोल्टुका किरण थापा, अस्मिता बिष्ट थापा रहेका छन भने मोबाईल बैकिंङ तर्फ निरन्जन थापा सम्मानित भएका थिए ।

साधारण सभाको अवसरमा सभाकी प्रमुख अतिथी समेत रहेकी जिल्ला सहकारी संघका कोषाध्यक्ष लामाले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण समेत गरेकी थिइन् ।

संस्थाका अध्यक्ष नवराज कार्कीको सभाध्यक्षताम भएको कार्यक्रममा थाहा नगरपालिका ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष कृष्ण कुमार कार्की, पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षहरु जीवन बस्नेत, अर्जुन कार्की, लाली गुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान, चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शकुन्तला गोपाली, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, संस्थाका व्यवस्थापक जनक तामाङ लगाएतका विभिन्न सहकारीका प्रतिनिधि, पत्रकार तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।