थाहा नगरपालिकाले कृषि सामाग्री प्रवद्र्धनमा अनुदान दिने भएको छ । पालिकाले उत्पादन कृषि सामाग्री प्याकेजिङमा अनुदान दिनका लागि सूचना आव्हान गरेको कृषि विकास अधिकृत संजय तिवारीले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश सर्शत कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदान दिन लागिएको हो । बागमती प्रदेश सरकारले वडा नम्बर ३ का लागि तोकेर सशर्त अनुदान पठाएको हुँदा कार्यक्रम सोही वडामा मात्र सञ्चालन हुने तिवारीले जानकारी दिए । ८० प्रतिशत अनुदान दिनका लागि १० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

अनुदान अन्तर्गत प्लाष्टिक, क्रेट र डिजिटल काँटामा दिइने सूचनामा उल्लेख छ । २१ दिन म्याद रहेको सूचना १८ मंसिरमा प्रकाशन भएको हो । यो सूचना अनुसार थाहा–३ का किसानहरुले मात्र दरखास्त दिन पाउनेछन् । थाहा नगरपालिकाको कृषि विकास शाखामा दरखास्त दिनका लागि अध्यक्ष वा प्रोपाइटरको नाम, मोबाइल नम्बरर समूह, सहकारी तथा पान नम्बर खुलेको निवेदन, नविकरण हुने अवस्थाको भए सो समेत खुल्ने दर्ता प्रमाणपत्र, निर्णयको प्रतिलीपी, करचुक्ता प्रमाणलगायतको कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसैबीच थाहा नगरपालिकाको वडा नम्बर ३ र ११ का किसानहरुका लागि चिया खेती व्यवस्थापनका लागि कार्यक्रम आव्हान भएको छ । कृषि विकास शाखाले प्रकाशन गरेको सूचना अनुसार चिया खेति व्यवस्थापन कार्यक्रमका लागि कृषक समूह, कृषि सहकारी, कृषि फर्मले यो सूचना प्रकाशित मितिले ३० दिन भित्र निवेदन पेश गर्नुपर्नेछ ।

यस कार्यक्रमका लागि १९ मंसिरमा नगरपालिकाले सूचना आव्हान गरेको हो ।

सूचनाः