थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार २ करोड ३० लाख ९३ हजार ४८९ रुपियाँ पुगेको छ । सहकारीको सेयर पुँजी भने ३२ लाख ५७ हजार १ सय पुगेको छ । थाहानगरको विकास घरमा २७ मंसिरमा आयोजित संस्थाको २० औं साधारणसभाको अवसरमा अध्यक्ष शकुन्तला गोपालीले यस्तो जानकारी दिएकी हुन् ।

सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन पेश गर्दै गोपालीले जगेडा कोष २० लाख ७० हजार ९७९ रुपैयाँ, बचत हिसाब १ करोड ४८ लाख ६२ हजार ३ सय ६६ र जोखिम व्यहोर्ने कोष १ लाख ७० हजार ४ सय ३२ रुपैयाँ पुगेको सुनाइन् । सो अवसरमा कोषाध्यक्ष कल्पना बिष्टले संस्थाले १ करोड ५९ लाख ९० हजार ऋण लगानी र १ करोड ४८ लाख ६२ हजार बचत हिसाब सहितको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रममा पेश भएको अध्यक्ष गोपाली, सचिव गिता विष्ट र कोषाध्यक्ष कल्पना विष्टको प्रतिवेदन सभाले पास गरेको छ ।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने ज्येष्ठ सदस्यहरु जेष्ठ सदस्य थाहा नगरपालिका वडा नम्बर ३ की नानीमाया बर्तौला र अम्बिका खत्री, वडा नम्बर ४ की जुन कुमारी बल, थाहा–५ की बसुनमाया भोम्जन तथा चरीमाया थिङ लाई सम्मान गरिएको छ ।

संस्थाकी अध्यक्ष शकुन्तला गोपालीको सभाध्यक्षतमा भएको साधारण सभाकी प्रमुख अतिथी थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरे रहेकी थिइन् । सो कार्यक्रममा घिमिरेले संस्थाले आर्थिक कारोबारलाई मात्र जोड नदिइ थाहानगरमा हुने महिला हिंसाको विरुद्धमा समेत विगत १९ वर्षदेखि निरन्तर लागिरहेकोमा सहकारीको प्रशंसा गरिन् । उनले महिलाको आर्थिकस्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने उल्लेख गर्दै यस काममा थाहा नगरपालिकाको सहकारी शाखा सहयोग गर्न तयार रहेको बताइन् ।

साधारणसभामा थाहा नगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष कविता विष्ट, थाहा नगरपालिका महिला बालबालिका शाखाका प्रमुख प्रतिमा मोक्तान, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजन मिश्र, फरक सोचक अध्यक्ष यादव जंग रायमाझी ,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी ,लालीगुराँस महिला बहुउद्देश्यीयका प्रतिनिधी नानीछोरी प्रधान, पाथिभरा बचतका अध्यक्ष नवराज कार्कीलगायतले शुभकामना दिएका थिए ।

चेतनशील महलिा बचत तथा ऋण सहकारी संस्थामा ४ सय १२ सदस्य, २७ समूह, ३३ किशोरी समूह र दैनिक कारोबार गर्ने सदस्य संख्या ९६ जना रहेको संस्थाको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी