थाहा नगरपालिकाको थानाबजारमा कार्यालय रहेको ग्रामीण पर्यटन व्यवसायी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा भएको छ । शिखरकोट स्थित विकास घरमा २९ मंसिरमा भएको साधारणसभा थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

सभामा संस्थाका सचिव प्रदिप केसीले प्रतिवेदन पेश गर्दै संस्थाको सेयर रकम ५२ लाख ५० हजार पुगेको विवरण पेश गरे । त्यसैगरी ऋण लगानी १ करोड ३४ लाख ३ हजार तथा बैंक मौज्दात ५५ लाख ४६ हजार रहेको प्रतिवेदन मार्फत सचिव केसीले जानकारी गराए । सभामा सचिव केसीले आर्थिक वृद्धि गर्न शेयर वृद्धि, तथा ऋण सुरक्षणका लागि विना धितो ऋण प्रवाह नगर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

सभामा कोषाध्यक्ष दिपा थापाले आफ्नो वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गदै संस्थाको वार्षिक करोबार १ करोड ६१ लाख पुगेको जानकारी गराइन् । कोषाध्यक्ष थापाले संस्थाको साधारण बचत, दैनिक बचत, आवधिक बचतलगायत अन्य खाता तथा ऋण लगानी र असुली नितिहरु संचालनमा आइरहेको सभामा जानकारी गराइन् ।

सभाका प्रमुख अतिथि थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले सहकारीले पर्यटन व्यवसायमा लगानी गर्न ठोस एजेन्डा नहुँदा समस्या रहेको बताइन् । संस्थाका सदस्यहरुले पनि पर्यटन व्यवसाय र अग्र्यानिक कृषि उत्पादनमा जोड दिन र सहकारीले योजनावद्ध रुपमा काम गर्नका लागि शुभकामना दिइन् । संस्थाका अध्यक्ष शिवहरि बर्तौलाले थोरै पुँजीलाई संस्थागत गरी ग्रामीण भेगमा संचालित पर्यटन व्यवसाय, कुटिर उद्योग, होटल व्यवसाय तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने साना उद्योगहरुमा लगानी गर्न संस्था जहिल्यै अग्रसर रहेको बताए । समग्रमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने नै सहकारीको मुख्य उद्देश्य र लक्ष रहेको प्रष्ट पार्दै सहकारीले आगामी वर्षहरुमा पर्यटन विकासका सहकारी पसल स्थापना सदस्यहरुलाई सेवा दिने उल्लेख गरे ।

साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्टता घोषणा गरी सदस्यहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट कर्जातर्फ थाहा नगरपालिका वडा नम्बर ३ कि लक्ष्मी खत्री, मनलाल गोपाली र थाहा ४ का धुम्म बहादुर लामालाई नगद सहित सम्मान गरिएको थियो । दैनिक बचततर्फ थाहा नगरपालिका वडा नम्बर ३ कि अन्जु मोक्तान, कमला गोले र सुनिल गोलेलाई सम्मान गरिएको थियो । सभामा उत्कृष्ट विद्यार्थी बचत तर्फ थाहा नगरपालिका वडा नम्बर ३ कि एरिका सेढाईलाई र उत्कृष्ट वृद्ध बचत सम्मानबाट थाहा नगरपालिका वडा नम्बर ४ कि मायादेवी अधिकारी र अम्मर बहादुर खत्रीलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष शिवहरि बर्तौलाको सभाध्यक्षतमा भएको साधारणसभामा तथा निवर्तमान अध्यक्ष निरन्जन अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । कायृक्रममा प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी, थाहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सविता सुनार, संस्थापक उपाध्यक्ष प्रेम कुमार केसी, संस्थापक कोषाध्यक्ष इन्द्रध्वज अधिकारी, उपाध्यक्ष गणेश लामा, लेखा समिती संयोजक राजाराम रायमाझी, कोषाध्यक्ष दिपा थापा, ऋण समिती संयोजक अच्युत केसी, व्यवस्थापक अमृता हमाललगायतका उपस्तिथि रहेको थियो।

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरको मार्खुमा आफ्नो सदस्यहरुलाइ सेवा दिदै आइरहेको संस्थामा हाल ७ सय ३८ सदस्य आवद्ध छन् । थाहामा पर्यटन क्षेत्रमा काम गर्ने यो एक मात्र सहकारी संस्था हो ।

पालिका प्रेस
थप जानकारी