मकवानपुर थाहा नगरपालिकाको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोबार १८ करोड ३१ लाख पुगेको छ । १ नम्बर वडामा कार्यालय रही सेवा प्रदान गर्दै आएको संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले ६ पुसमा भएको १७ औं साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको सेयर रकम १ करोड ७७ लाख तथा बचत १३ करोड ६४ लाख र ऋण लगानी १२ करोड ३८ लाख रहेको जानकारी गराए ।

संस्थाको साधारणसभा झम्केश्वरी माविको सभाहलमा भएको थियो । साधारणसभाको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए । प्रमुख अतिथी समेत रहेका प्रमुख विष्टले आम नगरवासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गरे । उनले सभाका सदस्यहरुलाई सुझाउँदै भने–‘सहकारीबाट लिएको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र अर्थिक समृद्धिको बाटो पहिल्याउन सकिन्छ ।’

सभामा संस्थामा अध्यक्ष अन्जल प्रधान, सचिव धर्म प्रधान र कोषाध्यक्ष राजमान श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरु पास भएका छन् । प्रतिवेदनहरुमा संस्थाले १७ वर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको उल्लेख गरिएका थिए । संस्थालाई पारदर्शी, सबल, सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिइएको थियो । प्रतिवेदन मार्फत सुरक्षित भविष्य योजना अन्तर्गत सदस्यहरुको बिमा, संस्थाका कर्मचारीहरुलाई अन्य संस्थाहरुसंगको सिकाइ सहित फोर्स लिभ तथा कर्मचारी रिफ्रेसमेन्ट योजना, सहकारी शिक्षा र शेयर पुँजीमा वृद्धि सहित विभिन्न सकारात्मक कामहरु गर्दै आएको जानकारी गराइएको थियो ।

संस्थाका अध्यक्ष अन्जल प्रधानको सभाध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा भएको सभामा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, सुखी भविष्य बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टलगायतले शुभकामना दियका थिए।

साधारणसभाको अवसरमा उत्कृष्ट बचत कारोबार तर्फ राम सिंह मोक्तान, दैनिक बचत तर्फ सुरेश श्रेष्ठ र उत्कृष्ट कर्जा कारोबार तर्फ गोराइ गोले तामाङलाई सम्मानित गरिएको थियो । त्यसैगरी साधरणसभाको अवसर पारेर संस्थाका जेष्ठ सदस्यहरु लोकनाथ विडारी, कमलादेवी विडारी, पुर्ण बहादुर श्रेष्ठ, रामलाल प्रधान, अर्जुन प्रधान, कान्छी श्रेष्ठ, मंगलमान प्रधान, विष्णु बहादुर लामिछाने, धन बहादुर गुरुङ र नारायण बिश्वकर्मालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूलाई प्रमुख अतिथी बिष्ट र संस्थाका अध्यक्ष प्रधानले प्रसंसापत्र तथा न्यानो कपडा प्रदान गरेका थिए।

पालिका प्रेस
थप जानकारी