मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ऋण लगानी एक अर्बको हाराहारीमा भएको प्रतिवेदन सार्वजनिक भएको छ । संस्थाको २५ औं साधारणसभाको अवसरमा संस्थाले ९ पुसमा सार्वजनिक गरेको प्रतिवेदनमा ९७ करोड ३० लाख ६२ हजार रुपैयाँ ऋण लगानी भएको जानकारी दिएको हो ।

सभामा सहकारीको शेयर पुँजी ९ करोड ९४ लाख ६६ हजार छ सय रुपैयाँ प्रतिवेदन मार्फत जानकारी दिएको छ । सो अवसरमा आर्थिक वर्ष २०८०÷०८१ मा सहकारीको कुल बचत ७४ करोड ६९ लाख ९२ हजार ६ सय ९३ रुपैयाँ रहेको रहेको जानकारी गराउँदै वार्षिक कारोबार डेढ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । गतवर्षको तुलनामा सहकारीको बचत संकलन र ऋण लगानी दुवैमा लक्ष्य पूरा गरेको प्रतिवेदनमा जनाइएको छ ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा ६ हजार ५ सय ८० जना शेयर सदस्य छन भने ४ हजार १ सय २३ जना समूहमा आवद्ध छन् । संस्थाले बागमती प्रदेश सरकारको मुख्य लगानीमा घर्तिखोलामा निर्माणाधिन थाहा शीतभण्डारमा साझेदार गरेको जनाएको छ । सहकारीले आवश्यकताको आधारमा अन्य वित्तीय संस्थासंग सहकार्य गर्ने नीति समेत लिएको प्रतिवेदनमा लेखिएको छ ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्ण बहादुर विष्टले यसवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले मुख्य कार्यालय परिसरमा साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा खाद्यान्न पसल सेवा सञ्चालन गरेको सभामा जानकारी गराए । युवा स्वरोजगार कार्यक्रम र कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको कर्जा लगानी गरी आधुनिक पशुपंछी पालन कार्यक्रम र लघु तथा घरेलु उद्योगको निम्ति सदस्यहरुलाई उद्यमशील बनाउने नीति अघि सारेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा सभाका प्रमुख अतिथी तथा थाहानगर प्रमुख बिष्णु बिष्टले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा मात्र ऋण दिदा मात्र सहकारी र देश अनि जनताको आर्थिक स्थिती मजबुत हुने बताए । विष्टले सहकारी शिक्षा र अनुगमनमा जोड दिन आग्रह गरे । थाहा नगरपालिकाले पनि सहकारीको नियमन र अनुगमनमा अलि कडा गरेको बताउदै सदस्यहरुको बचत र ऋण लगानी उत्पादन र आयआर्जन हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनको भनाइ थियो ।

सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरका उपप्रमुख भरत गोपाली,सदस्यहरुको तर्फबाट निरन्जन अधिकारी, संघसंस्थाको तर्फबाट हरीकृष्ण कार्की, राजनैतिक दलका तर्फबाट एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,बचत ऋण सहकारीका तर्फबाट जिल्ला बचत तथा ऋण सहकारीका फणीन्द्र सुवेदी, जिल्ला बहुउद्देश्यीय सहकारीको तर्फबाट पुरुषोत्तम कार्की, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, जिल्ला सहकारी संघको तर्फबाट बिमल कुमार ढकालले शुभकामना मन्तव्य दिएका थिए ।

साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने थाहा ३ का धुर्व बहादुर कार्की र थाहा २ का कुमार बस्नेतलाई सम्मानित गरिएको थियो भने विद्यार्थी सम्मानमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फबाट सुनौला माविका असिम गोपाली र प्रगती माबी हेटौंडाकी प्रकृति दाहाललाई सम्मान गरिएको थियो । संस्थागततर्फ सरस्वती विद्या मन्दिरका लखिन्द्र विन मुखिया र पालुङ भ्याली हार्ट एकेडेमीकी शान्ती बिष्टलाई सम्मान गरिएको थियो । सभाकै अवसर पारेर ९ जना महिलालाई सुत्केरी सम्मान र २५ जना जेष्ठ सदस्यहरलाई जेष्ठ नागरिक सम्मान सहित न्यानो झोला र हर्लिक्स बितरण गरिएको थियो।

पालिका प्रेस
थप जानकारी