सहकारी संस्थालाई सहकारीकै मर्म अनुसार सञ्चालन गरी सदस्यलाई सेवा दिनमा केन्द्रित हुनुपर्ने सहकारीकर्मीहरुले बताएका छन् । संस्थाको बचत, कर्जा प्रवाह र कोषहरु व्यवस्थापनमा सबै सचेत हुन सके सहकारीले प्रभावकारी सेवा दिन सकिनेमा उनीहरुले जोड दिएका छन् । थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा कार्यालय रही सेवा दिइरहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ पुसमा भएको १४ औं साधारणसभाका वक्ताहरुले यस्तो बताएका हुन् ।

साधारणसभाका प्रमुख अतिथी तथा थाहानगर कार्यपालिकाका उपप्रमुख भरत गोपालीले स्थानीय तहले सहकारीलाई हेर्ने नजर प्रगाढ रहेको उल्लेख गरे । आर्थिक सम्वृद्धिको साँझेदारका रुपमा पालिकाले सहकारी संस्थालाई लिने गरेको बताउँदै संस्थाहरुलाई सकारात्मक तर्फ डो¥याउन अनुगमनलाई बढवा दिइएको बताए । केही वर्ष अघि एक सहकारी संस्थामा बचतकर्ताहरुको रकम जोखिममा परेका बेला पालिका चनाखो भएको सुनाए । गोपालीले भने–‘हामीले अधिकार क्षेत्रभित्र रही नियमनको कार्य गर्दागर्दै पनि बचतकर्ताको करिब ७६ लाख जोखिममा परेको सुनेँ, हामीले त्यत्ति नगरेको भए धेरै क्षति बेहोर्नुपथ्यो ।’ उनले सहकारीको विकास र नियमनका लागि पालिकाले बजेट व्यवस्थापन शुभारम्भ गरेको उल्लेख गरे । ‘चालु आर्थिक वर्षमा ५ लाख बजेट सहकारी क्षेत्रका लागि विनियोजन गरेका छौं, यसलाई पनि सकारात्मक मान्नूपर्छ’–उपप्रमुख गोपालीले भने ।

 

सभाका विशेष अतिथी च्वाइस नेपालका प्रताप घिमिरेले थाहानगरको समग्र विकासमा साँझेदारका रुपमा काम गर्दै आइरहेकोमा सहकारी क्षेत्रमा पनि हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । शिखर बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरी यहाँको कृषि र अन्य आयआर्जनका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी नतिजा हासिल भएको सुनाए । ‘यहाँको सिकाईलाई अन्य पालिकाहरुमा समेत कार्यान्वयन गर्न मद्दत मिलोको छ’–घिमिरेले भने । च्वाइस नेपालले थाहानगरमा सहकारी क्षेत्रका साथै, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत महत्वपूर्ण क्षेत्रमा पालिकासंगको सहकार्यमा विकासका कामहरु गर्दै आएको छ ।

संस्थाका अध्यक्ष मनोज रायमाझीले थाहानगरमा सदस्यहरुका माझ विश्वास बढ्दै जानु संस्थाको सकारात्मक पक्ष भएको उल्लेख गरे । आगामी दिनमा राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्धलाई निरन्तरता दिदै सदस्य प्रोत्साहन, कृषक प्रोत्साहन, सहकारी सन्जालमा आवद्ध, पेन्सन बचत सदस्य हितकोषको व्यवस्थालाई थप व्यवस्थित गरिने योजना सभामा प्रस्तुत गरे । च्वाइस नेपालसंगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार, व्यावसायिक तालिम, टनेल बितरण, रिवेट कार्यक्रमहरु गर्दै आइरहेकोमा उपलब्धी राम्रो पाइएको उनको प्रतिवेदनमा लेखिएको थियो ।

सो अवसरमा संस्थाका कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्षमा संस्थाको सेयर पुँजी १ करोड ४३ लाख पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ६९ लाख निक्षेप संकलन गर्दै ६ करोड ६९ लाख रुपैया लगानी बाट २८ लाख ६८ हजार मुनाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे । १४ सय ५० सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २९ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सभामा प्रस्तुत गरिएको अध्यक्ष मनोज रायमाझी, कोषाध्यक्ष निरज रायमाझी, लेखा समितिबाट प्रस्तुत प्रतिवेदन पास भएको छ ।

सो अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कारबाट १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राजेन्द्र बिष्ट, हरीचन्द्र कार्की, किशोर प्रधान, संजय साह, लक्ष्मी गोपाली, अम्बर बहादुर कार्की, रामजी स्याङ्तान, बिजयलक्ष्मी अमात्य, रामचन्द्र सदासंकर, रुपा श्रेष्ठ रहेका थिए । उनीहरुलाई प्रमुख अतिथी गोपालीले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरेका थिए । संस्थाले आफ्नो स्थापना कालका सदस्यको रामहरी बिष्टलाई पनि सम्मान गरेको छ । सभामा उत्कृष्ट कर्मचारीको सबिता रायमाझीलाई घोषणा गर्दै सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष मनोज रायमाझीको सभाध्यक्षतामा भएको सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य फणिन्द्र सुवेदी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर विष्ट, रोजगार सेवा केन्द्र थाहा नगरपालिकाका संयोजक कुमार नेगी, फरक सोचका अध्यक्ष यादवजंग रायमाझीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, मंगलदिप सहकारीका व्यवस्थापक गणेश बिष्ट, सुभारम्भ कृषि सहकारीका अध्यक्ष बिक्रम बिष्ट, थाहा कृषि सहकारीका अध्यक्ष केशव सुनार, संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट, पालुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष अरुण रायमाझी, दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, पाथिभरा बचतका अध्यक्ष नवराज कार्की, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेल, पालुङ जेसीजका कार्यकारी उपाध्यक्ष मानसिं दोङलगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी