मकवानपुरको थाहा नगरपालिका कृषि बिकास शाखाले आलु खेतीको लागि ५० प्रतिशत अनुदानमा नगरको वडा नम्बर ३ मा बीउ आलु बितरण गरेको छ। थाहा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरिएको हो।

थाहा नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ हजार पचास किलो साजिटा जातको उन्नत आलुको बीउ बितरण गरिएको थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीले बताए । थाहा नगरपालिकालाई आलुको बिउमा आत्मनिर्भर बनाउनको लागि यस्ता कार्यक्रम ल्याएको बताउदै होटल रेष्टुरेन्ट तथा उद्योगको निम्ति यो आलुको माग उच्च रहेकोले बजारीकरणमा समस्या नरहेको बताए ।

अविरल कृषि समुहका सदस्य तथा अगुवा कृषक श्याम बिष्टले साजिटा जातको आलु अहिले नेपालको धेरै स्थानमा बीउ विकासको लागि उच्च माग रहेको हुँदा भारतको हिमाञ्चलबाट यो बीउ आएको बताउदै नेपाल सरकारले सिफारिस गरेको बीउ भएको हुँदा ढुक्क भएर लगाउँदा हुने उल्लेख गरे । कृषक नवराज बर्तौलाले थाहानगरले आलु उत्पादन राम्रो गर्न सिचाइ सुबिधालाई पनि व्यवस्थापन गर्नुपर्ने आग्रह गरे ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले कृषकले उत्पादन गरेको आलुमा बजारको समस्या नरहेको हुँदा गुणस्तरिय उत्पादनमा ध्यान दिन कृषकलाई आग्रह गरे । थाहा नगर प्रमुख बिष्टले नगरपालिकाले सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा बिनियोजन गरेको उल्लेख गर्दै संघीय सरकार र प्रदेश सरकारको रासायनिक मल वितरण प्रणालीले भने थाहाका कृषकहरुलाई मारमा पारेको बताए । विष्टले प्रदेश सरकारले मल बितरणमा थाहा नगरपालिकालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरे।

समुहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा सम्पन्न बीउ आलु वितरण कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, विभिन्न कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी