
आलु रोप्ने सिजन लागि सक्दा पनि डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि आलुको पकेट क्षेत्र मकवानपुर थाहा नगरपालिका क्षेत्रका किसान समस्यामा परेका छन् । किसानहरू समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडा पुगेका छन् ।
थाहामा मल अभाव भएपछि मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले मल सहज गरिदिन प्रदेश कृषि तथा पशु पंक्षी विकास मन्त्रालयलाई आग्रह गरेका छन् । थाहाको यहि समस्यालाई लिएर नेकपा एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानसहितको टोलीले २२ पुसमा मन्त्री प्रकाश श्रेष्ठलाई भेट गरी समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
एमाले थाहाका अध्यक्ष प्रधान, सचिव सुजन रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको भेटमा मन्त्री श्रेष्ठले कृषि सामग्री संस्थान हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई बोलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिएका छन् । भेटमा संस्थानका प्रमुख ज्ञवालीले मन्त्रालयले निर्णय गरिदिए तत्कालका लागि समस्या समाधान गर्न संस्थान तयार रहेको बताए । मन्त्री श्रेष्ठले २३ पुसमा नै बैठक राखी थाहामा थप कोटा पठाउने निर्णय गर्ने बताए । “अहिले तत्कालका लागि आवश्यक मल पठाइदिन्छौँ । बाकी मल माघ पहिलो हप्ताभित्र उपलब्ध गराउछौँ’–मन्त्री श्रेष्ठले भने ।
आलु रोप्न खेतबारी खनजोत गरी ठीक्क भइसक्दा पनि किसानले मलको अभावमा आलु रोप्न पाएका छैनन् । नेपाल सरकारको अनुदानको मल बिक्रीका लागि थाहानगरमा १९ वटा सहकारी संस्था र २ निजी व्यापारीले इजाजत पाएका छन् ।
मकवानपुरको थाहा नगरपालिका आलु उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ । थाहा नगरका ९ हजार कृषक परिवार आलुखेतीमा आबद्ध छन् । थाहानगरको ७ सय हेक्टरमा आलुखेती हुँदा ७० हजार किलो आलुको बीउ रोप्ने गरेका छन् । यहाँका किसानले आलुबाट वार्षिक दुई अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्