थाहा नगरपालिकाले वार्षिक रुपमा पाउने नियमित कोटा बाहेकको रासायनिक मल कृषि सामाग्री कम्पनी लिमिटेड हेटौंडाले पठाउन लागिएको कम्पनीका कार्यालय प्रमुख प्रकाश चन्द्र ज्ञवालीले बताएका छन् । मल आपूर्ति तथा वितरण प्रदेशस्तरीय समितिको २४ पुसको निर्णय अनुसार थाहाको लागि कम्पनीमा मौज्दात रहेको मल पठाउन लागिएको प्रमुख ज्ञवालीले बताए ।
थाहाका लागि मल पठाउन २५ पुसमै पालिकालाई पत्राचार भएको छ । पत्रानुसार १०० मेट्रिक टन डि.ए.पी. र १०० मेट्रिक टन युरिया मल रहेको छ । उक्त अनुदानको मल अन्य समयको जस्तै इजाजत प्राप्त सहकारी तथा संघसंस्थाबाट बिक्री गर्ने गरी पठाउन लागेको कम्पनीले जनाएको छ । थाहाका लागि छुट्याइएको मल २० माघसम्म थाहामा ल्याई बिक्री गर्नुपर्ने प्रमुख ज्ञवालीले बताए ।
थाहा नगरपालिकाका किसानहरुलाई आलु रोप्ने बेलामा मल अभावको भएपछि मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले २२ पुसमा थाहा नगरपालिकाका लागि मल सहज गरिदिन प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री श्रेष्ठलाई आग्रह गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडबाट मलको व्यवस्था गरिएको हो ।
थाहाका लागि मल उपलब्ध गराइदिनका लागि एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोलीसंग २२ पुसमा भएको भेटमा पनि मन्त्री श्रेष्ठले कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई बोलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिएका थिए ।
‘मन्त्रीज्यू र कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवाली सरसंगको भेटपछि आश्वासन दिनू भएको थियो, आज मल थाहामा पठाउन चिठ्ठी बन्यो’–एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भने–‘आइतबारदेखि मल ढुवानी हुने निश्चित छ । धन्यवाद, कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय प्रकाश श्रेष्ठ, यस क्षेत्रका संघीय सांसद तथा सरकारका मुख्य सचेतक महेश कुमार बर्तौला र यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुहुने एमाले थाहानगरका सचिव सुजन कुमार रायमाझी तथा सम्पूर्णमा ।’
निर्णय अनुसार इन्द्रसरोवर र मनहरी गाउँपालिकाले पनि ५०÷५० मेट्रिक टन रासायनिक मल पाएको मकवानपुर–२ का सांसद बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीले जानकारी दिए ।
थाहा नगरपालिकामा ७ सय हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि ५ सयदेखि ६ सय टन डिएपी र ३ सय टन युरिया मलको आवश्यकता पर्ने कृषि विकास शाखा थाहा नगरपालिकाले जनाएको छ । शाखाका अनुसार पालिका क्षेत्रमा–करिव ७० हजार किलो बीउ आलु लगाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्