धनुषाको विदेहनगर नगरपालिकामा प्रशासनिक अराजकता चुलिएको छ । नगरप्रमुख बेचन दासका छोरा रामभजन दासले सोमबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहलाई कार्यकक्षमै कुटपिट गरेका छन् । घटनापछि स्वयं मेयरले प्रहरीको उपस्थितिमै प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएका छन् ।
प्रशासकीय अधिकृतको उजुरी, मेयर र छोरामाथि कारबाहीको माग
कुटपिटपछि प्रमुख प्रशासकीय अधिकृत साहले शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । निवेदनमा उनले कुटपिट गर्ने रामभजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । ‘म प्रमुख प्रशासकीय अधिकृतको रूपमा निर्भीक भएर काम गर्न चाहन्छु, तर अहिले ज्यान जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ,’ साहले निवेदनमा उल्लेख गरेका छन् ।
३ लाख मूल्यको बल्याङकेट १० लाखमा मगाउँदा समस्या
प्रमुख प्रशासकीय अधिकृत साहले पालिका प्रमुखले तीन लाख मूल्य पर्ने बल्याङकेट १० लाखमा किन्न लगाउँदा विवाद सिर्जना भएको बताएका छन् । उनले मेयरले नियम विपरीतका योजनाहरूमा हस्ताक्षर गराउने, हस्ताक्षर नगरे धम्की दिने गरेको बताए । उनले भने, ‘३ लाख मात्र पर्ने गुणस्तरहीन ब्ल्याङकेटलाई १० लाखको बिल बनाएर पठाउनु भयो, मैले त्यसमा हस्ताक्षर गरिन्, त्यसपछि मेयर साबले धम्की दिने लगायतका काम गर्न थाल्नु भयो ।’
उनका अनुसार आफूले पालिकामा कानुन अनुसार काम गरेको तर मेयरले गैर कानुनी काम गर्न लगाएकाले पालिकामा दिनप्रतिदिन विवाद सिर्जना हुँदै गएको थियो ।
यसले गर्दा पालिकाका कतिपय कामहरू हुन नसकेको साह बताउँछन् । पालिका प्रमुखे पहिलेदेखि नै नियम विपरितका कार्यहरू गर्दै आएको उनले आरोप लगाए ।
शिक्षिकाको हाजिरी गराएको निहुँमा आक्रमण
कुटपिटको अवस्था भने शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी सामाजिक शिक्षिका पवन कुमारीको हाजिरी गराउने विषयसँग जोडिएको छ । प्रमुख प्रशासकीय अधिकृत साहले उनको हाजिरी गराएपछि मेयरका छोरा रामभजन दास असन्तुष्ट बनेका थिए ।
यसै विषयलाई लिएर सोमबार राम भजनले कार्यकक्षमै प्रवेश गरी गालीगलौज गर्दै प्रशासकीय अधिकृतलाई कार्य कक्षमै आएर, ढोका थुनेर भाटैभाँटाले कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत साहले प्रशासनसँग बताए ।
‘घटनाबारे मैले धनुषाका प्रहरी प्रमुखलाई जानकारी गराएँ । तर, मंगलबार बिहान प्रहरी र वडाध्यक्षको उपस्थितिमै मेयरले मलाई गोली हान्ने धम्की दिए,’ साहले भने, ‘उहाँले मलाई कुनै कानुनले रोक्न सक्दैन भन्दै मानसिक त्रास सिर्जना गर्नुभयो ।’
प्रशासकीय अधिकृतले अटेरी गरेको मेयरको आरोप
यता, मेयर बेचन दासले भने आफूले कसैलाई धम्की नदिएको दाबी गरेका छन् । बरु प्रशासकीय अधिकृतले प्रशासनिक काममा अटेरी गर्दै जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।
‘मैले गोली हान्ने भन्ने कुरा सरासर झूट हो,’ मेयरले भने, ‘मैले धेरै पटक सम्झाएँ, तर उहाँले प्रशासनिक काममा ढिलासुस्ती गर्नुभयो । वृद्ध वृद्धाको भत्ता समयमा नपठाउने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’
उनले जनप्रतिनिधिका रूपमा जनताको काममा अवरोध आएको गुनासो गर्दै प्रशासकीय अधिकृतले अटेरी गर्दा नगरपालिकामा समस्या सिर्जना भएको बताए । मेयर दासले प्रमुख प्रशासकीय अधिकृतले पालिकाका कर्मचारीहरूलाई नकरात्कम ब्यबाहार गर्ने, सेवा प्रवाहमा पनि समस्या सिर्जना गर्ने लगायतका गतिविधि गरेको आरोप लगाए ।
दासले आफूले पालिकाका काम गर्दा कुनै पनि किसिमको धम्की नदिएको दाबी गरे । प्रशासकीय अधिकृतले आवेगमा आएर पालिकाको गाडीमा तोडफोड गरेको मेयर दासको आरोप छ ।
मन्त्रालयको ‘अक्षमता’ ले द्वन्द्वको जोखिम कायमै
यो घटना घट्नुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि उत्तिकै जिम्मेवार छ । प्रशासनिक पदमा अन्य सेवाका कर्मचारी पठाउने मात्रै होइन, जनप्रतिनिधिले नै रोजेको कर्मचारी पठाएर धरापमा सहयोगी भूमिका निर्वाह गरेको छ । त्यसो त साहलाई सुरुमा उनै मेयरले लगेको हो, तर निहित ‘इन्ट्रेष्ट’ नमिल्दा कुटाकुट र गोली हान्नेसम्मको धम्की खेप्नु पर्ने अवस्थासम्म आएको छ ।
-प्रशासन डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस्