मकवानपुरका कैलाश गाउँपालिकाले जीपलाइन निर्माण गरेको छ । पर्यटक आकर्षित गर्न गाउँपालिकाले ८८ लाख रुपैयाँ लगानीमा जीपलाइन निर्माण गरेको हो । पालिकास्तरबाटै निर्माण भएका जीपलाइन यो पहिलो हो । कैलाश गाउँपालिका–२ कैलाशमा जीपलाइन निर्माण गरेको छ । जीपलाइनको छिट्टै प्रारम्भिक परीक्षण कार्य सञ्चालन गरिँदैछ ।
‘जीपलाइनको काम सकिएको छ,’ गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले भने, ‘बाहिरका जीपलाइन सम्वन्धी प्राविधिक ल्याएर परीक्षण सञ्चालन गर्दैछौं ।’ जीपलाइनको प्रारम्भिक परीक्षण सफल भएपछि पनि नियमित सञ्चालनका लागि केही समय लाग्ने गाउँपालिकाले जनाएको छ । जीपलाइन चढ्ने र ओर्लने स्थानमा शौचालयलगायत पूर्वाधारहरु निर्माण गर्न बाँकी रहेको छ । ८८ लाख ५६ हजार रुपैयाँमा ठेक्का लिएर २०८० चैत २ गते सम्झौता गरेको निर्माण कम्पनीले २०८१ फागुन ३० गतेसम्म निर्माण गरी सक्नुपर्ने समयावधि तोकिएको छ । निर्माणस्थल भौगोलिक रुपमा दुर्गम भएपनि तोकिएको समयमै सम्पन्न गरेको गाउँपालिकाका प्राविधिक बताउँछन् ।

कैलाश गाउँपालिकाको बैकुण्ठमा बिगत लामो समयदेखि बैकुण्ठ महोत्सव आयोजना हुँदै आएको थियो । जिपलाइन बनेपछि कैलाश–२ को मात्र नभई समग्र कैलाश गाउँपालिकाको पहिचान बढ्ने र पर्यटन प्रवद्र्धनमा पनि ठुलो टेवा पुग्ने वडाध्यक्ष राजेन्द्र घिसिङको भनाई छ । विष्णुकुण्ड, गुरु पद्मसम्भवको प्रतिमा, डाँफे मुनाल पार्क, ऐतिहासिक सतिघाट, भाइरल पिङलगायत पर्यटकीय आकर्षणहरु रहेको वैकुण्ठमा जिपलाइन अर्को ठुलो आकर्षण बन्ने भएको छ । ग्रामीण क्षेत्रमा निर्माण गरिएको जीपलाइन निरन्तर संचालनका लागि दैनिक सयौंको संख्यामा पर्यटक आउनुपर्ने हुन्छ । ति पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण पनि जरुरी छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको केन्द्र वैकुण्ठ कैलाश अब साहसिक पर्यटनको गन्तव्य पनि बन्ने भएको छ । देशकै लामो जिपलाइन बनेपछि देशभरिकै आन्तरिक पर्यटकहरुको ध्यानाकर्षण गर्ने र बाह्य पर्यटकहरुको समेत आगमन बढ्ने स्थानीयको विश्वास छ ।
जीपलाइनको के कसरी नियमित अप्रेशन तथा ब्रेकिङ सिस्टम बारेमा अध्ययन गर्न गाउँपालिकाको टोली कास्कीको सराङकोटमा सञ्चालित जीपलाइन अध्ययन अवलोकन गर्न गएका थिए । मकवानपुरमा मकवानपुर गढीमा निजी क्षेत्रबाट ४ वर्षअघि जीपलाइन सञ्चालन गरिएको थियो । त्यो अहिले बन्द अवस्थामा छ । कैलाश गाउँपालिकामा निर्माण गरिएको जीपलाइन पुग्न मनहरी बजार, त्रिभुवन राजपथको चुनियाँ र थाहा नगरपालिकाको शिखरकोटबाट सवारी साधनमा २ घन्टामा पुग्न सकिन्छ । वर्षात्को समयमा बैकुण्ठसम्म पुग्नका लागि सडकका कारण समस्या रहेको छ । स्थानीयले भन्दा पनि कैलाश बाहिरका पर्यटक भित्राउनका लागि गाउँपालिकाले बिभिन्न खालका योजना ल्याउने तयारी गरि रहेको उपाध्यक्ष मल्लले जानकारी दिएका छन् । होमस्टे, अर्गानिक खाद्यान्ह, स्थानीय उत्पादनलाई कोसेलीको रुपमा पर्यटकले खरिद गर्नसक्ने ब्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । राजमार्गको छेवैमा रहेको सुबिधासम्पन्न मकवानपुरगढीको जीपलाईनमा पर्यटकको कमीका कारण निरन्तर संचालन हुन सकेको छैन ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्