हेटौंडामा टोनी हागन पार्कमा निर्माण गरिएको डाक्टर टोनी हागनको अर्धकदको सालिकको मंगलबार हागनकी छोरी डा. क्याट्रिन हागन, हेटौंडा उपमहागनरपालिकाका नगर प्रमुख मीनाकुमारी र पूर्व नगर प्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१० टिसिएनमा हागनको अर्धकदको सालिकसहितको टोनी हागन स्मृति पार्क निर्माण गरिएको हो । पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल ब्याडमिन्टन कोर्ट निर्माण गरिँदै छ । ‘डा. हागनको सालिकको निर्माण कार्य सकिएकाले त्यसको अनावरण गरिएको हो,’ डा. टोनी हागन स्मृति पार्कका अध्यक्ष इन्द्र नेपालले भने, ‘हागनकी छोरी आएको मौका छोपेर सालिकको अनावरण गरिएको हो ।’

सालिक र पार्क निर्माण गर्न हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । उक्त सालिकको अनावरण गर्दै हागनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गर्दै भनिन्, ‘तपाईंहरुले मेरो बाबुलाई सम्झिनुभो म धेरै खुशी भएँ । डा. टोनी मेरो बाबुमात्र होइनन् उनी नेपाललाई माया गर्ने विदेशी हुन् । र नेपाललाई चिनाउने एक सच्चा नागरिक हुन् ।’ अनावरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा सहरको परिकल्पनाकारको रुपमा रहेका डा. टोनी हागनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपालिकाले सहरको मध्यभागमा टोनी हागन स्मृति पार्क निर्माण गरेको बताइन् ।

कार्यक्रममा टोनी हागन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हागनले नेपाललाई विश्वमामात्र चिनाएनन् नेपालीलाई नेपाल चिनाएको बताए । उक्त कार्यक्रममा पूर्वमेयर हरिबहादुर महत, डा. कृष्णप्रसाद दाहाललगायतले टोनी हागन र हेटौंडाका बारेमा बोलेका थिए । ७० वर्षअघि नै हेटौंडा सुन्दर सहर बन्न सक्ने घोषणा गरेका स्वीस नागरिक डा. टोनी हागनको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले टोनी हागन पार्क निर्माण गर्न सहयोग गर्दै आएको छ । करिब डेढ बिघा जमिनमा पार्कको निर्माण कार्य गरिएको छ ।

२४ अक्टोबर १९५० मा डा. टोनी हागनसहित तीन जना भूगर्भविद् नेपालको भौगर्भिक नक्सा तयार गर्ने कामका लागि तत्कालीन राणा प्रधानमन्त्री मोहन शम्शेर राणाको पाहुनाको रुपमा नेपाल प्रवेश गरेका थिए । त्यो विदेशी टोली रक्सौल नाका हुँदै वीरगन्ज, अमलेखगन्जसम्म सानो रेलमा आएका थिए । अमलेखगन्जबाट सानो जीपमा चुरियाको सुरुङ पार गरेका थिए । जब सुरुङको अर्को मुखबाट बाहिर आउँदा देखिएको राप्ती र कर्रा नदी आसपास विशाल रुपमा फैलिएर जमिन र सालको रुखहरु देखेपछि यो स्थान सुन्दर बन्ने कल्पना गरेका थिए ।

नेपालप्रेमी जसले नेपालको भौगर्भिक सर्वेक्षणको क्रममा ७५ जिल्लाको भ्रमण गर्दा करिब १४ हजार किलोमिटर दुरी पैदलयात्रा तय गर्ने कीर्तिमान कायम गरेका थिए । पहिलो पटक हिमाली अधिराज्य नेपाललाई विश्वसामु परिचय दिने काम गरेका थिए । सन् १९५० अक्टोबरमा हेटौंडाको अवस्थाका बारेमा टोनी हागनले लेखेका थिए ः ‘चुरिया पहाडमुन्तिर बनेको सय मिटर लामो सुरुङ हुँदै जाने कच्ची सडकबाट फराकिलो दुन उपत्यकामा पु¥यायो । त्यस उपत्यकामा खासै बस्ती थिएन । भारतबाट काठमाडौं जाने मुख्य मार्गमा पर्ने हेटौंडा एउटा सानो बजार थियो । घना जंगलले पूरै नढाकिए पनि यो क्षेत्र साँच्चै नै एउटा बृहत् प्रदेश थियो । सर्लक्क तन्किएका सालका मोटा वृक्षहरुले मेरो ध्यान तानिरहेको थियो ।’

डा. टोनी हागनको यो भनाइ नै एउटा बृहत् प्रदेशमा एउटा सुन्दर मानव बस्ती बसाल्ने परिकल्पना बन्न पुग्यो । सन् २००३ अप्रिल १८ मा स्विट्जल्याण्डको लेन्जरहाइडमा उनको मृत्यु भएको थियो । उनको नेपालप्रतिको असिम माया र अगाध प्रेमका कारण मरणोपरान्त उनको ‘अस्तु’ खरानीलाई नेपालको तराई पहाड र हिमालका तीनै भूभागमा छर्किएको थियो । उनको त्यो अन्तिम इच्छा थियो । उनको इच्छा अनुसार नातिले हेलिकोप्टर चार्टर गरी अस्तु छर्किने काम गरेका थिए ।

उनी सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाउँमा जन्मिएका थिए । डा. हागन १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा आएका थिए। सन् १९५२ मा उनी नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्र संघको तर्फबाट समेत नेपाल सम्बन्धी खोज र अनुसन्धानमा व्यस्त रहे । टोनी हागन नै नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक हुन् ।

त्यसैले उनलाई नेपाल विशेषज्ञ पनि भनेर पनि चिन्ने गरिन्छ । उनले नेपालको अधिकांश भूभागको पैदलयात्रा समेत गरेर त्यहाँको भौगोलिक र सांस्कृतिक अवस्थाको बारेमा बृहत् खोज र अनुसन्धान गर्ने काम गरेका थिए। यही गहिरो खोजका आधारमा उनले नेपालको सांस्कृतिक विविधताको बारेमा मौन वृत्तचित्र फिल्म समेत बनाएका थिए । जसलाई पछि उनले आफ्नै आवाजमा अंग्रेजी भाषामा पनि अनुवाद गरेका थिए। नेपाललाई धेरै नजिकबाट नियालेका हागनले ‘नेपाल’ नामक पुस्तकसहित अरु थुप्रै पुस्तकहरू समेत लेखेका छन्।

पालिका प्रेस
थप जानकारी