
नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले ८ बुँदे सिम्लाङ घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि ८ बुँदे घोषणा पत्र जारी गरेको छ । फागुन २२ र २३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा सम्पन्न बैठकले यो घोषणापत्र जारी गरेको हो ।
महासंघका अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका वा हुनसक्ने सबैखाले हस्तक्षेपको विरोध गर्ने प्रतिबद्धताका साथ अघि बढ्नेछ । साथै, पत्रकारिता क्षेत्रमा देखिएको विकृति तथा विसंगतिलाई निर्मूल पार्न महासंघ कटिबद्ध रहेको उनले बताए । बैठकले साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वका सञ्चारमाध्यमको दिगो विकासका लागि स्थानीय तथा प्रदेश सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको छ। विज्ञापन वितरण प्रणालीलाई समानुपातिक बनाउन संघ, प्रदेश र स्थानीय सरकारलाई बाध्यकारी व्यवस्था गर्न माग गरिएको छ।
महासंघका सचिव केशव समर्पण सुवेदीले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने नीति तथा कार्यक्रमलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, पत्रकारितामा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरूका लागि छात्रवृत्ति व्यवस्था गर्न बागमती प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, मकवानपुरका सबै स्थानीय तहहरूले पत्रकारिता प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने महासंघको माग छ। मकवानपुरका इन्द्रसरोबर गाउँपालिकाको सिम्लाङ, मार्खु, थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभञ्ज्याङ क्षेत्रको पर्यटन विकास र स्थानीय जनताको आयआर्जनलाई जोड्न व्यवसायिक तालिमको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ। महासंघले सकारात्मक पत्रकारितामार्फत समाजलाई जागरूक बनाउने प्रयास गर्न सबै पत्रकारहरूलाई आह्वानसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्