मकवानपुर थाहा नगरपालिकामा अचार उत्पादनमा क्रियाशील महिलाहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ । महिलाहरूको सीप अभिवृद्धि र उत्पादन क्षमता वृद्धिका लागि सामग्री सहयोग गरिएको हो ।

लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत थाहा नगरपालिकाले ३ नम्बर वडाको घर्तिखोलामा रहेको थाहा अचार उद्योग महिला समुहका उद्यमीहरूलाई आधुनिक ड्राइ मेसिन, सिल मेसिन, कटर मेसिन सहित १ लाख ४० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको हो । सामग्रीहरु नगर प्रमुख विष्णु बहादुर विष्टले हस्तान्तरण गरेका हुन् ।

स्थानीय महिला समूह मार्फत अचार व्यवसायमा आवद्ध महिलाहरूले परम्परागत तरिकालाई प्रविधिसँग जोड्दै व्यवसायिकरूपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । “पहिले घरायसी तरिकाले अचार बनाउँथ्यौं, अब भने मेशिनको प्रयोग, सही नापजाँच र गुणस्तरको आधारमा उत्पादन गर्न सिक्यौं,” महिला उद्यमी यशोदा कार्कीले भनिन्। प्रविधी पाएपछि समुहकी सानू तामाङ मोक्तानले प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर कायम गर्न सजिलो हुने र महिलाहरूलाई स्वावलम्बी बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने लक्ष्य लिएको बताइन।

प्रविधी हस्तान्तरण गर्दै नगर प्रमुख बिष्णु बिष्टले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलताको प्रसंशा गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रविधि हस्तान्तरण कार्यक्रमले थाहा अचार उद्योगको अचार व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा थाहा–३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, मेड्पाकी सुनिता बुढा क्षेत्री, मेड्पाका फोकल पर्सन अस्मिता तिवारीलगायत थाहा अचार उद्योगका महिलाहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी