मकवानपुरको थाहा नगरपालिका–४, स्थित सीम्भञ्ज्याङमा भूमि समस्या समाधान गर्न जग्गा नापजाँच प्रक्रिया सुरु भएको छ । दलित, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको भूमिसम्बन्धी लामो समयदेखि अल्झिएको समस्याको समाधानका लागि जग्गा नापजाँच प्रक्रिया सुरु गरिएको हो ।

भूमि आयोग मकवानपुरले यो विषयमा बैठक आयोजना गरेर प्रक्रिया अगाडि बढाएको जनाएको छ । थाहानगर प्रमुख बिष्णुबहादुर बिष्टको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । यसअघिकै भूमि आयोगले पनि सीमभञ्ज्याङको नापँजाच गरेर प्रमाणित गरेको भएपनि त्यसलाई प्रक्रिेया पुरा नभएकोले सर्वे गरेर प्रक्रिया पुरा गरिने काम सुरु भएको हो ।

२०११ सालदेखि बसोवास गर्दै आएको भएपनि कित्ताकाट नभएका, मालपोतमा दर्ता नभएका जग्गाको यकिन गर्न सर्वेको काम सुरु गरिएको आयोग मकवानपुरकी सदस्य दिलु घर्तीले जानकारी दिइन् । ‘फाईल छ तर, स्रेस्ता, लगत नभेटिएको हुँदा हामीले पुन काम सुरु गरेका हौं’ उनले भनिन् । वडा नम्बर ४ मा करीब २५० जना त्यस्ता अव्यवस्थित एवम् सुकुमवासीको बसोवास रहेको उनले बताइन् । बैठकले नगरप्रमुख बिष्टको संयोजकत्वमा १४ सदस्य भूमि समस्या समाधन सहजिकरण समिति गठन गरेको छ । समितिले भूमि समस्या समाधानका लागि खटिएका प्राविधिकलाई नापनक्सा कार्यका लागि सहजिकरण र सहयोग गर्ने बताइएको छ ।

यस्तै नापनक्साका लागि खटिएका प्राविधकका लागि आवश्यक बन्दोबस्ती वडा नम्बर ४ कार्यालयले गर्ने निर्णय गरेको छ । बैठकमा आयोगका सदस्य कविन सांगामी, अर्जुनप्रसाद चौलागाइ, रघुवंश कँडेल, सदस्यसचिव खिमबहादुर राना, पूर्वसदस्य अरुण रायमाझी, ४ नम्बर वडाअध्यक्ष नारायणा लामालगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी