मकवानपुरको थाहा नगरपालिकाले कृषिमा विभिन्न ४ शीर्षकमा ५० प्रतिशत अनुदान दिने भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले ७ असारमा आयोजित पालिकाको १८औं नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा यस्तो अनुदानको व्यवस्था गरिने जनाइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा माटोको अम्लियपना र प्रागांरिक पदार्थको मात्रा सुधारका लागि ५०% अनुदानमा कृषि चुन वितरण गर्ने जनाइएको छ । त्यस्तै तरकारी खेतिको उत्पादन लागत घटाउन र कृषि पेशालाई नाफामुखी बनाउनका लागि मल्चिङ प्लाष्टिक ५०% अनुदान वितरण गरिने उल्लेख छ । ५०% अनुदानमा मिनिटिलर वितरणामा निरन्तरता दिइने तथा खाद्य सुरक्षालाई ध्यानमा राखि धान र मकैको उत्पादन बढाउन हाइब्रिड धान र मकैको बीउमा ५०% अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न कृषि बस्तुको प्रमाणीकरण र ब्राण्डिङ गरी बजारीकरण गर्न सहजिकरण गरिने, साथै फलफुल, तरकारी, मासु, अण्डा, दुध, किबी लगायतको खेतीलाई प्रोत्साहन गरी नगरलाई आत्मनिर्भर बनाउने नीति थाहा नगरपालिकाले लिएको छ । आलुको उत्पादन अत्याधिक भइरहेकोले उक्त आलु बीउको जगेडा गर्न लगाई नयाँ जातको आलुको क्षेत्र बृद्धि गरी उत्पादन र उत्पादकत्व बढाउने नीति थाहानगरको छ ।

थाहा नगरमै रहेका कृषि तथा वन विज्ञान विश्व विद्यालय, मदनभण्डारी विश्व विद्यालय तथा जिल्ला र प्रदेशमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थासंगको सहकार्यमा प्रत्येक वडामा माटो परीक्षण शिविर, तरकारी बालीमा लाग्ने रोगकिराको जाँच, विषादी परीक्षण तथा मौसम अनुसारको विज्ञको उपस्थितीमा घुम्ती बालीको उपचार शिविर सञ्चालन गर्ने, किसान सूचिकरण कार्यक्रमलाई निरन्तरता दिने, विषादी न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा जैविक विषादी र जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने थाहा नगरपालिकाके आगामी आर्थिक वर्षको नीति रहेको छ ।

पालिका प्रेस
थप जानकारी