राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । थाहा–१ मा रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र थाहा नगरपालिकाको सहकार्यमा आयोजित तालिम ८ देखि १२ असारसम्म सञ्चालन हुनेछ ।

तालिममा हिंसापीडित, दलित, जनजाति समुदायका २५ जना महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरुलाई जनकल्याण माविमा कृषि अध्यापन गराउने बाली बिज्ञ प्रशिक्षक निश्चल साक्य र बागवानी केन्द्र दामनमा कार्यरत प्राविधिकहरुले तालिम दिइरहेका छन् । संस्थाकी अध्यक्ष रिता प्रधानले अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान रहेका थिए ।

तालिम सहभागी महिलालाई बीउ पूँजीसमेत प्रदान गरिने र थाहा नगरपालिकाले तालिमको प्रभावकारिता र बीउ पूँजीको उपयोगबारे अनुगमन गरिरहने थाहानगर महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले बताइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष नानिछोरी प्रधानले स्वागत मन्तव्य दिएकी थिइन्। तालिमबाट सहभागी महिलाहरूमा आत्मनिर्भरता र आयआर्जनका लागि कृषि व्यवसायमा लाग्ने प्रेरणा मिल्नेमा बिश्वास रहेको कार्यक्रमका वक्ताहरुले जोड दिए ।

कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबु अर्याल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडा नम्बर २ का सदस्य अर्जुन कार्की र झम्केश्वरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप प्रधान स्थानीय सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष गणेशमान प्रधान, थाहानगर रोजगार संयोजक कुमार नेगीलगायतको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी