पूर्वी मकवानपुरको ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकी फेरिएको छ । जीवन निर्वाह गर्न ज्याला, मजदुरीमा भर गर्नुपर्ने अवस्था बिस्तारै घट्दै गएको छ । गुजारामुखी खेती, पशुपालन गर्दै आइरहेका यहाँका स्थानीयले व्यवसायीक पशुपालन मार्फत दूध बिक्री गरेर मनग्य आम्दानी गर्दै बालबच्चाको उच्च शिक्षाका साथै परिवारको लालन पालन र बचत समेत गर्न थालेका छन् ।

पालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर विकास गर्न थालेपछि यहाँका किसान व्यवसायीक पशुपालनमा जोडिन् थालेका छन । यहाँको पालिकाले पशुपालन सम्बन्धी शिविर तालिम, बहुबर्षिय, मौसमी घाँसको बीउ निःशुल्क र साइलेज (घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशु आहार) मा अनुदान दिएर दूधको भुक्तानी सुनिश्चित गरिदिएपछि दूध विक्री गरेर किसानले आम्दानी गर्न सफल भएका हुन ।

परम्परागत शैलीमा एकवटा गाई मात्रै पालन गर्दै आएका बकैया–५ पावसका सोम बहादुर माझीले अहिले छ वटा गाई पालेका छन । दैनिक ५५ लिटर भन्दा बढी दूध बिक्री गर्दै आउनुभएका माझीले सबै खर्च कटाएर मासिक ६० हजार आम्दानी गर्न सफल भएका छन । खेतीपातीमा मात्रै निर्भर रहनुभएका उहाँले अहिले पशुपालनबाट दूध बिक्री गरेर आएको आम्दानी बालबच्चाको शिक्षामा खर्च गरेका छन ।

त्यस्तै बकैया–५ तिनतल्लेका फुलराज गोले र भरत घिसिङ लगायतकाले गाई पालन गरेर दूध बिक्री गर्दै राम्रो आम्दानी लिन सफल भएका छन । १२ वटा वडा रहेको यस पालिकाको ३, ४, ५, ७, ८, ९, १०, ११ र १२ नं. वडामा पशुपालन हुँदै आएको छ । यहाँ ९० प्रतिशतले गाई र १० प्रतिशत किसानले भैँसी पालन गरेको पालिकाको तथ्याङ्क छ ।

गत बर्षदेखि दैनिक छ हजार लिटर दूध सङ्कलन थालेको पालिकामा अहिले दैनिक सरदर २० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । पालिकाले दूध बिक्री गरेर मासिक चार करोड भित्र्याउन सफल भएको छ । भक्तपुर–५ खरिपाटीमा रहेको शिवपुरी डेरीसँग पालिकाले दश वर्षका लागि दूध बिक्री गर्ने सम्झौता गरेको छ । किसानले उत्पादन गरेको दूध डेरीले सरदर ७२ रुपियाँमा खरिद गर्दै आएको छ । दैनिक २१ हजार लिटरसम्म पालिकासँग दूध खरिद गर्ने र १५–१५ दिनमा भुक्तानी गर्नेगरि सम्झौता गरिएको डेरी सञ्चालक विश्वराज खड्काले जानकारी दिए । शिवपुरी डेरीले पालिका र पालिकाले किसानको खातामा दूधको सिधै भुक्तानी दिने व्यवस्था मिलाइएको छ । सहकारीले सञ्चालन गरेका ९ वटा चिस्यान मार्फत दूध सङ्कलन गरेर डेरीमा पठाउने गरिएको छ । शिवपुरी डेरीले मकवानपुरसहित चितवन, सिराहा, नवलपरासी र सप्तरीबाट सम्झौता गरेर दूध खरिदै गर्दै आएको छ ।

कृषि पेसामा सक्रिय हुँदै गाउँपालिका अध्यक्ष हुनुभएका धर्मराज लामिछाने पालिकाको नीति तथा बजेटमा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन । बकैयाको पहिचान कृषिसँग जोड्दै कृषि मार्फत कृषकहरूको जीवनस्तर सुधार्न लागिपरिरहेको उनले बताए । “अहिले दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ, अब हाम्रो लक्ष्य दैनिक ५० हजार लिटर पु¥याउने हो, किसानलाई समृद्ध बनाउन पालिकाले हरतवरले सहजीकरण गर्छ,”–गाउँपालिका अध्यक्ष लामिछानेले भने । पालिकाले बहुबर्षिय र मौसमी घाँसको बिउ बिरुवामा दुई हजार लिटर दूध बिक्री गर्ने किसानलाई वार्षिक ३ हजार अनुदान दिर्दै आएको छ । पालिकाले छ करोड लगानीमा उद्योग स्थापना गरेर दाना र साइलेज उत्पादन गर्दै आइरहेको छ ।

व्यावसायिक रूपमा २० वटा भन्दा बढी गाई पालन गर्दै आउनु भएका यहाँका किसानले दूध बिक्री गरेर मासिक तीन लाख सम्म भुक्तानी लिर्दै आएको गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । “अहिले पालिकाको मुख्य आम्दानीको आयस्रोत दूध, मकै र धान हो, मुख्य गरेर दूधबाट सहरको पैसा गाउँमा भित्र्याउन सफल भएका छौँ,”–गाउँपालिका उपाध्यक्ष खत्रीले भने । दूध बिक्री गरेर मकवानपुरको बागमती र मनहरी गाउँपालिकाले पनि सहरको पैसा गाउँमा भित्र्याउन सफल भएका छन् ।

पालिका प्रेस
थप जानकारी