मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगर पालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको थोकबजार आइतबार आयोजित एक कार्यक्रमकाबीच उद्घाटन एवम् हस्तान्तरण गरिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र नगरप्रमुख मीनाकुमारी लामाले संयुक्तरुपमा थोकबजार भवनको उद्घाटन गरेका हुन् । कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोकबजार भित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको बजारमा थोकबिक्रीका लागि दुईतलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् ।

प्रादेशिक थोकबजारको निर्माणकार्यका लागि संघीय कृषि मन्त्रालयले सबै प्रदेशका प्रमुख सहरमा जस्तै हेटौंडामा पनि किसानका लागि प्रादेशिक कृषि थोकबजारको आवश्यकता पहिचान गरी यसको डिपिआर तयार गरेको हो । २०७६ पुसमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा बसेको बैठकले तयार गरेको मोडालिटीअनुसार निर्माण कार्यको कुल लागतमध्ये भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत लागत साझेदारी गर्ने निर्णय भए बमोजिम २०७७ भदो महिनामा कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको थियो ।

२०७८ जेठमा निर्माणकार्यका लागि अनक÷माउण्टेन जेभिसँग निर्माण सम्झौता भएको थियो । उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोकबजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमको रुपमा अघि बढाएको बताएका छन् ।

पालिका प्रेस
थप जानकारी