मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको कञ्चनजंघा कृषि सहकारीमा आबद्ध महिलाको सामूहिक प्रयास र मेहनतले उत्पादन गरेको गुन्द्रुकले स्वदेशदेखि विदेशसम्म राम्रो बजार पाएको छ । गुन्द्रुक उत्पादनले सहकारीमा आवद्ध महिलालाई आर्थिक रुपमा सबल बनाउनुका साथै हेटौंडालाई गुन्द्रुक उत्पादनको प्रमुख केन्द्रका रुपमा स्थापित गरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त बीउपुँजीको सहयोगमा १५ कठ्ठा जग्गा भाडामा लिएर सागखेती सुरु गरिएको थियो । यसबाट उत्पादन गरिएको गुन्द्रुकले उत्कृष्ट बजार पाउन थालेपछि माग धान्न गाह्रो भएको सहकारीकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् । उनका अनुसार, यहाँ उत्पादित गुन्द्रुक नेपालका प्रमुख सहर काठमाडौँ, पोखरा मात्र नभई युरोप, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकमा निर्यात हुने गरेको छ । माग धेरै भएपछि अहिले सागखेतीको लागि ३० कठ्ठा जमिन भाडामा लिइएको सहकारीकी कोषाध्यक्ष श्रेया गुरुङले बताइन् ।
एक सिजनमा मात्र साग उत्पादन हुने भएकाले अन्य समयमा मकै, धान जस्ता अन्नबाली लगाएर अतिरिक्त आम्दानी लिइने गरिएको छ । माग निरन्तर बढ्दै गएकाले सहकारीले यसवर्ष १ सय ५० घरधुरीलाई सागको विरुवा वितरण गर्ने योजना बनाएको छ । गुन्द्रुकसँगै सहकारीले भटमास मिसाएर सुक्खा अचार उत्पादन गर्ने काम पनि थालेको छ । सहकारीमार्फत महिलाले गुन्द्रुक सुकाउने, प्याक गर्ने र लेबलिङ गर्ने जस्ता कार्य सामूहिक रुपमा गर्दछन् । पहिले घरखर्च चलाउन पनि मुस्किल हुने अवस्थामा रहेका महिला अहिले गुन्द्रुककै कमाइबाट परिवार धान्न र छोराछोरीको पढाइ खाजाखर्च जोहो गर्न सक्षम भएका छन् ।
हाल बजारमा यहाँको गुन्द्रुक प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । अहिलेसम्म १५ क्विन्टल भन्दा बढी गुन्द्रुक बिक्री भइसकेको छ ।


















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्