दाङको राप्ती गाउँपालिका वडा नम्बर १ खर्कगाउँका वासिन्दाकोे आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले प्रत्येक घरपरिवारलाई १ वटाका दरले गर्भिणी र वयस्क बाख्रा वितरण गरिएको छ ।

गरिब विपन्न, अपांगता परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाउँपालिका वडा नम्बर १ को कार्यालयले खर्कगाउँका ११ घरपरिवारलाई बाख्रा वितरण गरेको हो । वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले खर्कगाउँमा बाख्रा वितरण गरे । खर्कगाउँ राप्ती पालिकाको वडा नम्बर १ अन्तर्गत विकट बस्तीको रूपमा रहेको छ । यो गाउँमा ११ घरधुरीको बसोबास छ । विद्युत्को राष्ट्रिय लाइन पुग्न नसकेका कारण वडा कार्यालयले गाउँपालिका र सहयोगी निकायको पहलमा सोलार बिजुली तथा सोलार लिफ्ट खानेपानी व्यवस्था गरेको छ ।

नागरिकको सुविधाका लागि स्थानीय सरकारले पहल गरेकामा खर्कगाउँबासी भएका छन् । बाख्रा वितरणपूर्व बाख्राको स्वास्थ्य चेकजाँच तथा बिमा गरिएको छ । स्थानीय तथा उन्नत जातका बाख्रा वितरण कार्यक्रममा वडा सदस्य पूर्णजंग रेश्मी, पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल, वडा सचिव विश्व पौडेल, प्राविधिक शरदरमन पुरीलगायत सहभागी थिए ।

 

पालिका प्रेस
थप जानकारी