जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाखोला विपन्न गाउँबस्ती हो । यो गाउँमा बढी दलित समुदाय बसोबास गर्छन् । कर्णाली राजमार्ग नजिकै पर्ने गाउँ भए पनि यहाँका नागरिकको आयआर्जनमा सुधार हुन सकेको छैन । यो समुदायका कुनै पनि नागरिकले हालसम्म सरकारी जागिर खान सकेका छैनन् । न त राजनीतिक दलमा रहेर अगुवा गर्ने छन् ।

पछिल्लो समय तातोपानी गाउँपालिका र वडापालिकाले विकास निर्माणदेखि सीपमूलक तालिम दिन थालेपछि भने यहाँका महिलाको आयआर्जनको बाटो खुलेको छ । यो समुदायको जीवन स्तरवृद्धि गर्न यहाँका महिलालाई सीप सिकाएर उद्यमी बनाउने योजना बनाइएको हो । उद्यमी उत्पादन गरी उद्योग नै स्थापना गर्ने र यहाँका नागरिकको आयआर्जन वृद्धि गर्न ६ महिने होजियारी तालिम सञ्चालन गरिएको छ । चुलोचौकोमा सीमित महिलालाई हाते होजियारी सीप सिकाएर दक्ष उद्यमी बनाई गाउँमै उद्योग सञ्चालन गर्ने वडापालिकाको लक्ष्य छ । आफैं उद्यमी र गाउँमै उत्पादन हुने वस्तुबाट महिलाले दोहोरो लाभ लिन सक्ने अपेक्षा गरिएको छ । सोहीअनुसार हियाखोलाका सीता कामीसहित ७ जना महिलाले हाते होजियारी सीप सिक्दै आएका छन् ।

उनीहरूको बिहान–बेलुकीको समय स्विटर, हाइनेकदेखि ऊनीका कपडा बुन्नमै अधिकांश समय बित्ने गरेको छ । यी महिलाले वडाले दिएको तालिमलाई अवसरका रूपमा लिएका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाखोलाकी सीता कामीले जुम्लामा अहिले जाडो समय लगाउने शिरदेखि पाउसम्मकै कपडा आयात हुने गरेको बताइन् । उनले भनिन्, ‘यहाँ उत्पादन हँुदैन । सीप नभएर बेरोजगार बसेका थियौँ । गाउँमै उद्योग खोल्ने उद्देश्य छ ।’ उद्यमी, कालिगढबिना उद्योग सञ्चालन सम्भव छैन । बाहिरबाट ल्याउँदा महँगो पर्छ । त्यसैले सामग्री उत्पादनदेखि मेसिन मर्मतको सीप सिकेर कालिगढका रूपमा तयार हुँदै छन् । आगामी दिनमा होजियारी उद्योगका माध्यमबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने लक्ष्यसहित तालिम दिइएको वडाले बताएको छ । आफ्नै सीप र आफ्नै उत्पादनले जुम्लासहित देश विदेशमा सामान पठाउने सोच तालिममा सहभागीको छ ।

सहभागीले ६ महिने तालिमको ३ महिना पूरा हुँदा ऊनीको स्विटर, हाइनेक, टोपी, मफ्लर, मोजासम्म बुन सक्ने भएका छन् । प्रशिक्षक रामप्रसाद छतकुलीका अनुसार यहाँको हावापानी अनुकूलको कपडा तयारी गर्न जुम्लामा होजियारी उद्योगको सम्भावना राम्रो छ । कपडा आयात मात्र नभई नेपालका साना, मझौलादेखि ठूला उद्योगमा भारतीय कालिगढकै राज छ । उनले भने, ‘त्यसैले गाउँमै उद्योग खोलेर गाउँकै महिला कालिगढ बन्ने हो भने सस्तोमा उपभोक्ताले कपडा पाउने र सीप बेच्नेले पनि आम्दानी लिन सक्छन् ।’ वडाध्यक्ष विशाल खड्काले होजियारी उद्योगले मात्र ग्रामीण महिलाको आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले भने, ‘अहिलेसम्म हियाखोलाका नागरिक सरकारी कर्मचारी छैनन् । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो । यो गाउँलाई उद्यमी गाउँका रूपमा विकास गर्न महिला कालिगढ उत्पादनको तयारी थालेका हौँ ।’

कालिगढ भएपछि महिलाले आफ्नै लगानी गरेर भविष्यमा उद्योग स्थापना गर्न सक्नेछन् । होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेकोे छ । सीप सिकेर उद्योग स्थापना गर्ने र उत्पादित सामानको बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नेछ ।

पालिका प्रेस
थप जानकारी