बैठकमा सहभागीहरु । फोटोः विशाल रायमाझी/पालिका प्रेस

मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध ऋषेश्वरको प्रवेशद्वारदेखि मन्दिर परिसरसम्मै मदिरा र माछामासु निषेध गरिएको छ । आउँदो १५ कार्तिक ठूलो एकादशी (हरिबोधनी एकादशी) को अवसरमा ऋषेश्वरमा लाग्ने जात्रालाई लक्षित गर्दै बसेको बैठकले यस्तो निर्णय गरेको हो । ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाको अध्यक्षतामा ११ कार्तिकमा बसेको बैठकले एकादशी जात्रालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पर्यटन सूचना केन्द्र सिमभन्ज्याङमा बसेको बैठकमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उप–प्रमुख भरत गोपाली तथा ४ नम्बर वडाध्यक्ष नारायण लामाको विशेष उपस्थिती रहेको थियो । बैठकले इलाका प्रहरी कार्यालय पालुङ तथा नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन र सुरक्षाको व्यवस्थापन गरिदिनको लागि अनुरोध गर्ने, मन्दिरको भेटी र समग्र जात्रा व्यवस्थापन क्षेत्र विकास समितिको नेतृत्वमा गर्नेलगायतको निर्णय गरेको छ ।

ऋषेश्वर । फाइल फोटोः गणेश विष्ट/पालिका प्रेस

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वरमा लाग्ने जात्रा व्यवस्थापनका लागि स्वयंसेवक व्यवस्थापन गर्न गणेश लामालाई संयोजक तोकिएको छ । बैठकले परम्परागत रुपमा पाण्डुकेश्वर महादेवको मुकुट ऋषेश्वर लैजाने ल्याउने व्यवस्थाका लागि संयोजन गर्न पाण्डुकेश्वर क्षेत्र विकास समितिका सदस्य कमल केसीलाई जिम्मा दिने निर्णय गरेको छ भने मन्दिर प्रवेशद्वारमा लाग्ने बजार व्यवस्थापनको संयोजन गर्नका लागि सुमन भुजेललाई संयोजक तोक्ने निर्णय गरेका छ ।

बैठकमा सहभागीहरु । फोटोः विशाल रायमाझी/पालिका प्रेस

बैठकमा नगर प्रमुख विष्णु बहादुर विष्टले जात्रालाई व्यवस्थित रुपमा सञ्चालन गर्न अब ऋषेश्वर क्षेत्र विकास समितिले नै नेतृत्व लिनूपर्ने बताए । ‘स्वयंसेवक परिचालन, मन्दिरको भेटी संकलन, बजार व्यवस्थापनलगायत सबै एकद्वार प्रणालीबाट व्यवस्थापन गर्नुपर्छ’ प्रमुख विष्टले भने–‘नगरपालिकाले कार्यविधि निर्माण गरी आधिकारिक रुपमा क्षेत्र विकास समिति गठन गरिसकेको अवस्थामा सबै सरोकारी निकायको समन्वयमा ऋषेश्वरको प्रवद्र्धनात्मक कार्य गर्नुपर्दछ ।’ बैठकमा नगर उपप्रमुख भरत गोपालीले ऐतिहासिकता र परम्परा नमासिने गरी जात्रा सञ्चालन र व्यवस्थापन गर्नुपर्ने बताए । धार्मिक सहिष्णुतासहितको पहिचान भएको ऋषेश्वरलाई थप प्रवद्र्धन गर्नका लागि क्षेत्र विकास समितिको योगदान थप मजबुद हुनुपर्ने सुझाए ।

ऋषेश्वर मन्दिर । फाइल फोटो ।

जात्रालाई व्यवस्थित गर्नका लागि सुरक्षाको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताउँदै इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले स्वयंसेवक, नगर प्रहरी तथा स्थानीयहरुको समन्वय अपरिहार्य रहेको बताए । उनले भक्तजनहरुको लाइन व्यवस्थापन तथा ऋषेश्वर प्रवेशद्वार रहेको त्रिभुवन राजपथको दामन–सिमभन्ज्याङ सडक खण्डको ट्राफिक व्यवस्थापनलाई सहज बनाइने बताए ।

बैठकमा ऋषेश्वर क्षेत्र विकास समितिका पदाअधिकारीहरु, पाण्डुकेश्वर क्षेत्र विकास समिती, गोरखनाथ मन्दिर व्यवस्थापन समिती, एभरेष्ट क्लब दामन, ऋषेश्वर सामुदायिक वन, ऋषेश्वर टोल विकास संस्था, खर्क ठुलोफाकल टोल विकास संस्था, किटेनी रुप्से टोल विकास संस्था, नवजागरण पौरखी युवा क्लब, दामन बजार व्यवस्थापन समिती, सिमभन्ज्याङ बजार व्यवस्थापन समिती, होटल व्यवसायीहरु तथा स्थानीयहरुको समेत उपस्थिती रहेको थियो । सो अवसरमा एकादशी जात्रा सौहार्दपूर्ण रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सरोकारवलाहरुको सहकार्य आवश्यक भएको ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष लामाले बताए । उनले क्षेत्र विकास समितिले पहिलो पटक जात्रा व्यवस्थापन गर्न लागेको बताउँदै ठूलो एकादशी जात्रा सबैको साझा भएकोले आ–आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्न अपील गरे ।

पालिका प्रेस
थप जानकारी