आरम्भ चौतारी लघुवित्तद्वारा आयोजित २ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सकिएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड स्थानीय शाखा कार्यालय पालुङले २९ र ३० कार्तिकमा आयोजन गरेको तालिममा ५१ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूलाई “लघु उद्यमीको हात आरम्भ चौतारीको साथ“ भन्ने नारासहित व्यवसायिक कृषि प्रवद्र्धन विषयमा व्यावहारिक सीप प्रदान गरिएको थियो।
तालिमको समापनमा प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष बमबहादुर स्याङ्तानले स्थानीय महिलाहरू आर्थिक रूपमा सशक्त बन्दा परिवार र समाज दुवै समृद्ध बन्ने बताउँदै यस्ता सीपमूलक तालिमले आत्मनिर्भरतामा मद्दत पु¥याउने उल्लेख गरे । कार्यक्रममा संस्थाको गल्छी शाखा प्रबन्धक सन्तोष रायमाझीले लघुवित्त संस्थाले नियमित रूपमा समुदायमै पुगेर आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीका विशिष्ट आतिथ्यता रहेको थियो । तालिममा सहभागीहरूले तरकारी खेतीका लागि आवश्यक प्रविधि, बीउबीजन व्यवस्थापन, माटो तयारी, कीरा रोग नियन्त्रण, आधुनिक व्यावसायिक खेतीका प्रविधि, बजार व्यवस्थापन तथा आर्थिक योजना बनाउने सीप सिकेका थिए । प्रशिक्षकहरुले व्यावहारिक प्रदर्शनमार्फत उत्पादन वृद्धि तथा गुणस्तरीय तरकारी खेतीका उपायहरू आफ्नै बारीमा कार्यान्वयन गर्न सकिनेगरी मार्गदर्शन प्रदान गरे ।
तालिममा सिकेका ज्ञान–दक्षताले महिलाहरूलाई आत्मविश्वास बढाउँदै आफ्नै बारीबाट व्यावसायिक तरकारी उत्पादन गर्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्। तालिमको समापन समारोहमा संस्थामा उत्कृष्ट कारोबार गर्ने केन्द्र, उत्कृष्ट उद्यमी र उत्कृष्ट बचत कर्तालाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको समापन गर्दै पालुङ शाखा प्रबन्धक महेन्द्र शर्माले महिलाहरूको आर्थिक सबलीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्