स्थापनादेखि भाडाको घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार रुपैयाँ खर्चेर भवन निर्माण गरेको हो । भवनको सोमबार उद्घाटन गरिएको छ ।

भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । ‘हामी निर्वाचित भएर आँउदा आफ्नो लागि बस्ने कोठासमेत थिएन,’ नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने, ‘अब जनताको सेवा गर्न सहज हुनेछ ।’  अहिले नगरपालिकाले सबैजसो वडा कार्यालय भवनसमेत निर्माण गरेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।‘जनप्रतिनिधिको निर्वाचन अगाडि नै ०७२ मा ९ करोड रुपैयाँको प्राविधिक लागतमा सो भवनको डिपिआर तयार भएको थियो,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद पौडेलले भने, ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि उनीहरूकै पहलमा ०७४ बाट निर्माण सुरु गरी ३ वर्षमा भवन निर्माणले पूर्णता पाएको हो ।’

नगरका सबै शाखाका सेवा नयाँ भवनबाट दिइनेछ भने शिक्षा, पशु सेवा, कृषि सेवालगायतका सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट सञ्चालन गरिनेछ ।