जिल्ला प्रहरी कार्यालय मकवानपुरले साउन महिनामा विभिन्न प्रकृतिका ९७ वटा अपराधका मुद्दा दर्ता गरेको छ । दर्ता भएका मुद्दामध्ये ५० वटा फछ्र्योट भएका छन् भने ४७ वटा मुद्दा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको साउनको प्रगति विवरणमा उल्लेख छ ।
प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अंगभंग, जबरजस्ती करणी, बाल यौनदुरुपयोग, चोरी, कुटपिट, बैंकिङ कसुर, लागूऔषध, हातहतियार तथा अभद्र व्यवहारलगायत मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका १६ वटै मुद्दा फछ्र्योट भएका छन् भने चोरीसम्बन्धी चारवटै मुद्दा फछ्र्योट भएको विवरणमा उल्लेख छ । बैंकिङ कसुरका १७ वटा मुद्दा दर्ता भएकामा सबै बाँकी रहेका छन् । लागूऔषधसम्बन्धी ११ मुद्दामध्ये १० वटा फछ्र्योट भएका छन् भने एउटा बाँकी छ ।
लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले २० जना व्यक्ति पक्राउ गर्नुका साथै सातवटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । हेरोइन, गाँजा, ट्रामाडोल, डाइजेपाम, फेनार्गन, नाइट्राजेपामलगायतका लागूऔषध बरामद गरिएको छ । यसअवधिमा चालु मुद्दाका ९६ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ १८ जनालाई प्रहरीले पक्राउ गरी २१ वर्ष २ महिना २१ दिन कैद र १ लाख ५४ हजार ९ सय ५० रुपैयाँ बिगोरकम असुल गरेको हो । साउन महिनामा मकवानपुरमा ३७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु र ६५ जना घाइते भएका छन् । दुर्घटनामा ४२ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ४५ जनाको उद्दार गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २६ जनालाई कारबाही गरी १० लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रवक्ता काफ्लेले बताएका छन् । महिला, पुरुष तथा बालबालिका गरी २७ जना हराएको उजुरी परेकोमा १३ जना फेला परेको प्रहरीले जनाएको छ ।
हराउनेमा १२ महिला, ६ पुरुष र ९ बालबालिका रहेका थिए । फेला पर्नेमा चार महिला, दुई पुरुष र सात बालबालिका छन् । घरेलुहिंसातर्फ ३० वटा उजुरी परेकोमा १८ वटा मिलापत्र गरिएको र पाँचवटा अदालत पठाइएको छ । साउनमा बाढी तथा पहिरोका ११, आगलागीका चार र अन्य चार गरी १९ वटा विपद्का घटना भएको प्रहरीको तथ्यांक छ । ती घटनामा दुईजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । विपद्का घटनामा प्रहरी परिचालन गरी उद्दार तथा व्यवस्थापनको काम गरिएको जनाएको छ । यसका साथै, प्राकृतिक सम्पदा दोहनमा संलग्न सवारीबाट ६१ हजार ९ सय ४३ रुपैयाँ जरिवाना असुल गरिएको र समुदाय तथा विद्यालय केन्द्रित ११३ वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले साउनमा समुदाय तथा विद्यालय केन्द्रित ११३ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । महिलाहिंसा, लागूऔषध, मानवबेचबिखन, जबरजस्ती करणी, ट्राफिक नियम, साइबर अपराध, बालविवाह, चोरी, घरेलु हिंसा तथा बालयौनदुव्र्यवहार न्यूनीकरणलगायत विषयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा पुरुष १ हजार ९४३, महिला ९८६, बालक १०९ र बालिका ९३ गरी ३ हजार ३ सय ३१ जना सहभागी भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार साउनमा कार्यालयको हटलाइन तथा जिल्ला प्रहरी कार्यालयअन्तर्गतका नम्बरमा २ हजार ३८४ वटा कल प्राप्त भएका छन् । नागरिक सहायता कक्षमा ५ हजार ९६५ जना सेवाग्राही दर्ता भएको विवरणमा उल्लेख छ । प्रहरीले अपराध न्यूनीकरणका लागि नियमित गस्ती तथा निगरानी, सूचना संकलन, रात्री गस्ती, समुदाय तथा विद्यालयमा जनचेतनामूलक कार्यक्रम र आपत्कालीन उद्दार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्