२०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालय पुनर्निर्माण भएका छन् । सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको हो ।

भूकम्पले सिन्धुपाल्चोकका ५४७ विद्यालय भवन ध्वस्त बनाएको थियो । पूर्ण रूपमा क्षति भएका विद्यालयका तीन हजार ६२० कक्षाकोठा ढलेका थिए । भूकम्पबाट क्षति पुगेकामध्ये चारवटा विद्यालयका भवनबाहेक सबै विद्यालयका भवन पुनर्निर्माण भइसकेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । एसियाली विकास बैङ्कको २४ करोड रुपैयाँको सहयोगमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २६ रोपनी क्षेत्रफल जग्गामा थाङ्पाल भ्याली माध्यमिक विद्यालयको ५६ कोठे भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए । सुनकोसी गाउँपालिका–१, ठोकर्पामा चाइल्ड फन्ड जापान र टुकी सङ्घ सुनकोसीको दुई करोड ३४ लाख रुपैयाँको सहयोगमा रक्तकाली आधारभूत विद्यालयको भवन निर्माण भएको प्रधानाध्यापक सानुकाजी अधिकारीले बताए ।

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाले तीन करोड ९७ लाख रुपैयाँको आर्थिक सहयोगमा बलेफी गाउँपालिका–६ को कुपकन्या माविको भवन निर्माण गरिदिएको स्थानीय ज्ञानेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । जिल्लामा भूकम्पले क्षति पुगेका विद्यालयको भूकम्प प्रतिरोधी र आकर्षक भवन निर्माणपछि विद्यार्थीमा उत्साह थपिएको एकाइ प्रमुख सुवेदीले बताए ।

निर्माण भएका विद्यालय भवन भूकम्प प्रतिरोधी र आकर्षक छन् । निर्माण गर्न बाँकी चार विद्यालय सहयोगी निकायको बेवास्ता र विद्यार्थी सङ्ख्या न्यून भएका कारण बन्न सकिरहेको छैन । पुनर्निर्माण भएका विद्यालयमा बालमैत्री कक्षाकोठा, सुविधायुक्त कुर्सी–टेबुल, छात्रछात्रा र अपाङ्गमैत्री शौचालय, स्वच्छ खानेपानीलगायतका सुविधा उपलब्ध छन् ।

भव्य विद्यालय भवन निर्माण भए पनि शैक्षिक गुणस्तर भने अझै बढ्न नसकेको बलेफी गाउँपालिका–७ का अमृत अधिकारीले बताउँदै शिक्षण सिकाइमा तीनै तहको सरकारका निकायले अनुगमन गर्नुपर्ने धारणा व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी