पोखरामा चर्चित संगीतकार अम्बर गुरुङको नाममा संगीत पुरस्कार स्थापना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो । प्रत्येक दुई÷दुई वर्षमा अर्पण गरिने उक्त पुरस्कारको राशी नगद दुई लाखसहित ताम्रपत्र र दोसल्ला रहने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्त श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कार आगामी वर्षदेखि अर्पण गर्न शुरु गरिने उहाँले बताउनु्भयो ।

नेपाली गीत, संगीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेमध्ये एक जनालाई छनोट गरी पुरस्कार प्रदान गरिने छ । ‘श्रष्टा चाहे देश भित्रको होस् वा देश बाहिरको, नेपाली होस् वा नेपाली मूलको । तर उसले नेपाली गीत संगीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ भने ऊ पुरस्कारको हकदार हुनसक्छ,’ संयोजक सरुभक्तले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले लेखन, गायन, संगीत र वाद्यवादनको कुनै एक क्षेत्रमा वा बहुविधामा योगदान गर्नुहुनेले यो पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।

२० लाखको अक्षय कोषमार्फत पुरस्कार सञ्चालन गरिने संयोजक सरुभक्तको भनाइ छ । अक्षयकोषमा हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भइसकेको छ । बाँकी रकम स्वेच्छिक रुपमा योगदान गर्न आह्वानसमेत गरिएको छ । कोषको बिउपुँजीको रुपमा भेट्रान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’बाट संकलन गरेको ५ लाख र पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रमबाट संकलन गरेको दुई लाख पचास हजार प्राप्त भएको संयोजक सरुभक्तले जनाउनुुभयो ।

स्वर्गीय गुरुङलाई कालजयी र चीरस्थायी बनाउन उहाँको सम्मानस्वरुप पुरस्कार स्थापना गरिएको पुरस्कार स्थापना समितिका सह–संयोजक तीर्थ श्रेष्ठले बताउनुभयो । ‘अमर गुरुङले नेपाली गीत, संगीतको क्षेत्रमा दिएको योगदानको उच्च गर्दै उनको योगदानको सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको हो,’ श्रेष्ठले भन्नुभयो । अमरप्रति श्रद्धासुमन तथा अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने पुरस्कार स्थापनाको उद्देश्य रहेको उहाँको भनाइ थियो । उहाँले अक्षयकोष वृद्धि भएमा पुरस्कारको राशी तीन लाख पु¥याउने योजना रहेको बताउनुभयो ।
अम्बर गुरुङले गीत, संगीतको क्षेत्रमा उच्च स्तरको पुरस्कार स्थापना होस् भन्ने चाहना राख्ने गरेको संयोजक सरुभक्तले बताउनुभयो । तर आफ्नै नाममा रहोस् भन्ने चाहना भने नदेखाएको उहाँको भनाइ छ । ‘अम्बर गुरुङको चाहनाले नभई उहाँको योगदानको कदर गर्न हामीले पुरस्कार स्थापना गरेका हौं,’ सरुभक्तले भन्नुभयो ।

पालिका प्रेस
थप जानकारी