कामै नगरी योजना फरफारक गरेको भन्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्राङस्थित माल्टे खानेपानी आयोजनाको कामै नगरेको भन्दै स्थानीयले शुक्रबार प्रदेश खानेपानी इकाइ कार्यालय गुहारेका हुन् ।

उक्त योजनामा लक्षित उपभोक्तालाई निर्माण उपभोक्ता समितिमा नराखी अन्यत्रकालाई राखेर योजनामा अनियमितता गरेको स्थानीय नवराज पाण्डेले आरोप लगाए । उक्त योजनाअन्तर्गत २०७७/७८ मा कामै नगरी पाँच लाख रुपैयाँ फरफारक गरेकाले ज्ञापनपत्र बुझाएको पाण्डेले बताए । ‘उपभोक्तालाई थाहै नदिई अवैध रूपमा उपभोक्ता समिति गठन गरे,’ पाण्डेले भने, ‘सम्बन्धित निकायको ध्यानाकर्षण नभए जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’

उक्त योजना स्थानीय ५२ घर उपभोक्ताका लागि लक्षित गरिएको छ । तर यसमध्ये कसैलाई पनि थाहा नदिई बिनाकाम योजनाको नाममा आर्थिक अनियमितता गरेकाले आवाज उठाउनुपरेको स्थानीय नीरकुमार राईले बताए । ‘उपभोक्तालाई बाइपास गरेर अन्यत्रकोलाई उपभोक्ता समितिमा राखिएको छ,’ राईले भने । ज्ञापनपत्र बुझ्ने क्रममा प्रदेश खानेपानी इकाइ कार्यालय दिक्तेलका अधिकृत पुरुषोत्तम पौडेलले योजनाको बारेमा विस्तृत बुझेर जानकारी गराउने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष ललितकुमार राईले भने गत वर्ष असारमा बजेट आएको र उक्त बजेटबाट केही रकम सामान खरिद गर्न खानेपानी कार्यालयले नै कटाएको र केही रकम समितिको खातामा पठाएको बताए । खानेपानी कार्यालयले नै सामान खरिद गरिदिने भएकाले रकम कटाएर राखेको राईले बताए । राईले भने, ‘यसमा कसैले अनियमितता भएको भन्ने शंका नगरे पनि हुन्छ ।’

उक्त खानेपानी योजनाको काम टंक खतिवडाको अध्यक्षतामा बनेको उपभोक्ता समितिले गरिरहेको वडाध्यक्ष राईले बताए । चुप्ला, सामातुङ, थापागाउँ, सङ्खु, भडारे, कट्टी, दमैटोललगायतका उपभोक्तालाई खानेपानी उपलब्ध गराउन खतिवडाको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको राईको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी