गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ३ नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन १७ सूचक मूल्यांकनमा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट ३ र लुम्बिनी प्रदेशमा पहिलो भएको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेस गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेट अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीमहिलाको संख्या, संस्थागत प्रसूति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शीर्षक सूचकमा आयोगले स्थानीय तहलाई अंक भार दिएको थियो ।

७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको छ । तेस्रोमा ७६.५४ अंकका साथ गुल्मीको धुर्कोट, चौथोमा ७६.४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका र पाँचौँमा ७६.३८ अंकका साथ भीमदत्त नगरपालिका (कञ्चनपुर) भएका छन् ।

स्थानीय, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायत सबैको सहयोगबाट गाउँपालिका यो स्थानमा पुगेको भन्दै पालिका अध्यक्ष भूपाल पोखरेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी