जुम्लाको तिला गाउँपालिकाका १५० जना नवउद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराइने भएको छ । आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धि गर्नुका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन् । तिला गाउँपालिकाले चालू आर्थिक वर्षमा नविल बैंक, राष्ट्यि युवा परिषद् र पालिकाकै त्रिपक्षीय सम्झौता तथा समन्वयमा आर्थिक समृद्धिका लागि उद्यमी छनोट गरी सहुलियत कर्जा प्रवाह गर्ने थालिएको छ ।

तिला गाउँपालिकाका १५० जना उद्यमीले विभिन्न व्यवसाय उद्यम सञ्चालनका लागि १४ करोड रुपैयाँ बढीको सहुलियत कर्जा पाउने भएका छन् । कम्तीमा १० लाखदेखि १ करोड रुपैयाँ रकमसम्म सहुलियत कर्जा प्रदान गरिनेछ । सहुलियत कर्जाका लागि तिला गाउँपालिकाका ९ वटै वडाका ६ सय ३२ जना महिला, युवा तथा अन्य नागरिकले फर्म भरेका थिए । तीमध्ये व्यवसायको प्रकृति र उद्यमीको योग्यता क्षमतालाई लक्षित गर्दै सहुलियत कर्जाका लागि १५० जना उद्यमी छनोट भएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न आर्थिक समृद्धिबिना सम्भव छैन । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मात्रै समृद्धि हासिल हुँदैन । हरेक घरमा उद्यमी, आर्थिक विकासमा सक्रिय जनशक्ति हुनैपर्छ । त्यसैले उद्यमशीलता विपन्न नागरिकको जीवन सुधार र आर्थिक विकास गर्ने लक्ष्यका साथ सहुलियत कर्जा कार्यक्रम अघि बढाएका हाैँ ।’ नवउद्यमी छनोटमा दलित, महिला र युवालाई बढी प्राथमिकता दिइएको छ । सहुलियत कर्जाले तिलाका महिला, युवा जिल्लाकै नमुना उद्यमी बनेर देखाउने अध्यक्ष योगीले जानकारी दिए ।

तिला भौगोलिक हिसाबले विकट भए पनि उद्यमशीलता र व्यावसायिक हिसाबले प्रचुर सम्भावना भएको पालिका हो । भेडा, बाख्रा, खरायोपालन, कृषि व्यवसाय, अर्गानिक कोसेली घर सञ्चालन, सिलाइकटाइ, हातेहोजियारी, व्यवसाय, सिमी उत्पादन, व्यावसायिक स्याउ, ओखर खेतीलगायत व्यवसाय गर्न प्रस्ताव पेस गरेका उद्यमी सहुलियत कर्जाका लागि प्राथमिकतामा परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए ।

उद्यमीलाई व्यावसायिक तालिम

सहुलियत कर्जाका लागि छनोट भएका १५० जना नवउद्यमीलाई ७ दिने तालिम दिइने भएको छ । उद्यमीलाई वित्तीय साक्षरता, व्यवसाय, उद्योग सञ्चालन प्रक्रिया, सहुलियत कर्जा प्रक्रिया विषयमा जानकारी दिन तालिम सञ्चालन गरिने भएको हो । तालिममा राष्ट्रिय युवा परिषद्का प्रतिनिधि श्यामकाजी खत्री र नबिल बैंक कर्णाली प्रदेशका प्रमुख गोपी पाण्डे सहुलियत कर्जा सहजीकरण तथा उद्यमशीलता वित्तीय साक्षर कार्यक्रका लागि जुम्ला पुगेका छन् ।

छनोट भएका उद्यमीले नमुना काम गरेको खण्डमा १४ करोड रुपैयाँ मात्र नभई आवश्यकताअनुसार थप बजेटसमेत लगानी गरिने राष्ट्रिय युवा परिषद्का प्रतिनिधि श्यामकाजी खत्रीले बताए । बैंकको कर्णाली प्रदेशका प्रमुख पाण्डेले बैंकको लक्ष्य नाफा कमाउनु मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएकाले उद्यमशीलता विकासमा लगानी गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले नागरिकको आयआर्जनबिना आर्थिक समृद्धि सम्भव नभएकाले उद्यमशीलता विकासका लागि तिला गाउँपालिकाले थालेको कार्यक्रम प्रंशसनीय रहेको बताइन् । सोमबार वित्तीय साक्षरता कार्यक्रम उद्घाटनका क्रममा तिला गाउँपालिका र नबिल बैंकबीच सम्झौतापत्र हस्तान्तरण भएको छ ।