हेटौंडा उपमहानगरपालिकाको आयोजनामा  र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आज देखि हेटौंडामा व्यक्तिगत घटना दर्ता शिबिर संचालन गरिएको छ । शिबीरको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले घटना दर्ता गर्न छुटेकाहरुलाई स्थानीय स्तरबाटनै सेवा लिनका लागि आग्रह गर्नुभयो । व्यक्तिगत घटना दर्ता गर्ने काम सानो देखिएपनि ठुलो प्रभाब पार्ने भएकाले स्थानीय स्तरमानै दिइएको सेवा लिनका लागि आग्रह गर्नुभयो ।

हेटौंडाका १९ वटै वडाका ५७ स्थानमा घटना दर्ता शिबिर हुने भएकाले यसबाट आम नगरवासीहरुले आफ्ना घर आगनमानै बसेर सेवा लिन आग्रह गर्नुभयो । हेटौंडा–५ को पीप्ले सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा शिबीर भएको हो । भोली पनि यही भवनमा शिबीर सञ्चालन हुने छ ।

भोलीनै हेटौंडा ६, १७ र १८ मा यो शिबीर सञ्चालन हुने छ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर सञ्चालन हुने भएको हुँदा वडा कार्यालयको पहुँच बाहिर रहि समयमा सेवा लिन नसकेका तथा सेवा प्राप्त गर्न छुटेका लाभग्राहीहरुले आफुलाई पाएक पर्ने शिविरसम्म आई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता गराउनुहुन उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले अनुरोध गर्नु भएको छ ।

आजको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, योजना बजेट, सूचना तथा तथ्याङ्क महासाखाका प्रमुख भीम तिमल्सीना लगायतकाको आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाले यहाँका १९ वटा वडाका ५७ स्थानमा घटना दर्ता शिबीर सञ्चालन गरिन लागेको उपमहानगरपालिकाका एमआइएस अप्रेटर दिपेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रत्यक वडामा तीन स्थानमा घटना दर्ता शिबीर सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार जन्म, सम्बन्ध विच्छेद, बिबाह, मृत्यु, बसाई सराई जस्ता व्यक्तिगतघटना दर्ता शतप्रतिशत दर्ता गराउने उद्देश्यका साथ हेटौंडाका वडा वडामा गएर घटना दर्ता शिबिर सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले बताउनुभयो ।

सरकारले योग्य नेपाली नागरिक पहुँच नपुगेकै कारणसामाजिक सुरक्षा भत्ता प्राप्त गर्न छुट भएको भए सोको दर्ता गराउन सहज पहुँच पुयाउने उद्देश्य अनुरुप स्थानीय तहका प्रत्येक वडाका फरक फरक स्थानमा दर्ता शिविर संचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सरकारले चालूमा वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहमा बजेट व्यवस्था भएको छ ।

घटना दर्ताकार्यको लक्ष्य प्राप्तीको निम्ती सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना संचालन निर्देशिकाको संसोधन अनुसार काम सुरु गरिएको हो ।

नेपाल सरकार र स्थानीय प्रशासनबाट जारी निशेधाज्ञा र कोभिड महामारीको प्रकोपलाई मध्यनजर गरी उपयुक्त मितिमा घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर सञ्चालन गर्नु निर्देशन दिइएको छ ।

घटना दर्ता शिविर संचालन गर्दा घटना दर्ता शत् प्रतिशत हुने गरी योजना तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने तयारी थालिएको उपमहानगरपालिकाका एमआइएस अप्रेटर दिपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

पालिका प्रेस
थप जानकारी