स्थानीय तह निर्वाचनको सरगर्मी बढेसंगै मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन र उमेद्वारको विषयमा चर्चा बढ्न थालेको छ । मूलतः सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने र वडा तथा प्रमुख उपप्रमुखको पद बाँडफाँड कसरी होला भन्ने विषयले सबैको ध्यान खिचेको छ ।
अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी र एमालेले ६/६ वटा वडा जितेको थाहानगरमा हाल ११ नम्बर वडा अध्यक्ष नेकपा एकीकृत समाजवादी (एस) भए पश्चात् अहिले एमालेको ५ वटा वडामा मात्र नेतृत्व रहेको छ ।
गठबन्धनको १९ चैतमा काँग्रेस थाहानगर कार्यालयमा बसेको बैठकले २१ चैतमा बस्ने अर्को बैठकले वडा बाँडफाँडको विषयले समेत प्रवेश पाउने जनाइ रहँदा कति वटा वडा काँग्रेसले पाउला भन्ने सवाल अर्को चासोको विषय भएको छ ।
माओवादीले गठबन्धन भएपनि आफूले जितको वडा नछोड्ने बताइरहँदा हार्ने वडा काँग्रेसको भागमा पर्ने भएपछि त्यसले पनि असन्तुष्टि पैदा गर्ने जनाइएको छ । पहिलो निर्वाचनमा माओवादीले वडा नम्बर १, ३, ४, ७, ८ र ९ को अध्यक्ष जितेको थियो ।
तर, नेपाली काँग्रेसले एउटै पनि वडा जितेको थिएन । नेपाली काँग्रेसले कुनै पनि वडा नजितेको भए पनि ५ वटा वडामा प्रतिस्पर्धी भएको छ । पहिलो चुनावमा काँग्रेस वडा नम्बर ५, ६, ७, १० र १२ मा दोस्रो दलको रुपमा स्थापित भएको हो । अबको निर्वाचनमा केही गृहकार्य गरे यि वडा सहजै विजय हासिल गर्न सक्ने काँग्रेसको अनुमान छ भने माओवादी पनि आफू दोस्रो भएको वडा नम्बर २ र ११ मा जित हासिल गर्ने दाउमा छ । यसो हुँदा २ वटा वडामा विजयी थप्ने माओवादीको आँकडा छ ।
गठबन्धनको वैठक २१ चैत विहान नेकपा माओवादी केन्द्र थाहानगरको कार्यालयमा बस्दैछ । वैठकले उमेद्वार टुङ्गो नलगाएपनि वडा बाँडफाँड गर्ने बताइएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्